एजेन्सी । हाकिम जियाचको गोलमा चेल्सीले च्याम्पियन्स लिग फुटबलमा रसियन क्लब क्रास्नोडारमाथि सहज जित निकालेको छ ।
बुधबार राति समूह ईको खेलमा चेल्सीले रसियन क्लब एफके क्रास्नोडारमाथि ४–० को जित निकालेको हो ।
यसै सिजन चेल्सी आएका जियाचले लण्डन क्लबका लागि पहिलो गोल गरे । उनले डेबिड वार्नरको पासलाई सदुपयोग गर्दै ७९ औं मिनेटमा गोल गरेका थिए ।
खेलमा अग्रता भने ३७ औं मिनेटमा हुडसन ओडोईले दिलाएका थिए । काई हाभर्ट्जको पासलमा ओडोईले लण्डन क्लबलाई अघि बढाएका थिए ।
७६ औं मिनेटमा वार्नरले पेनाल्टीमा चेल्सीको अग्रता दोब्बर बनाए । जोर्गिन्हो पेनाल्टीमा चुक्दा सुरुवातमा अग्रता लिने अवसर गुमाएको चेल्सीका लागि दोस्रो पेनाल्टी वार्नरले गरेका थिए ।
जियासको गोलसंगै ३–० ले अघि बढेको चेल्सीका लागि खेलको अन्तिम मिनेटमा क्रिस्टियन पुलिसिकले चौथो गोल थपेका थिए । टोमी अब्राहमको पासलाई सदुपयोग गर्दै पुलिसिकले गोल गरेका थिए ।
पछिल्लो समय बराबरीको नतिजा मात्र निकालेको चेल्सीले च्याम्पियन्स लिगमा सहज जित भेटेको छ । च्याम्पियन्स लिगको सुरुवाती दुई खेलमा चार अंक जोड्दै चेल्सीले उत्कृष्ट सुरुवात गरेको छ ।
सोही समूहको अर्को खेलमा स्पेनिस क्लब सेभियाले फ्रान्सेली क्लब रेनिसलाई १–० ले हरायो । सेभियाको जितमा डी जोङले विजयी गोल गरे ।
समूहमा चेल्सी ४ अंक सहित शीर्ष स्थानमा छ । समान अंक भएपनि सेभिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । पुछारका रेनिस र क्रास्नोडारले समान एक एक अंक जोडेका छन् ।