एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) साविक विजेता लिभरपुलले बलियो प्रतिद्वन्दी आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलले घरेलु मैदानमा आर्सनलको सामना गर्नेछ । लिभरपुल र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
एनफिल्डमा मैदान उत्रदा दुबै टिम लगातार तेस्रो जितको खोजीमा हुने छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
लिभरपुलले सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा लिभरपुलले चेल्सीलाई २-० ले हराएको थियो ।
बलियो चेल्सीलाई हराएको कारण पनि लिभरपुल उच्च मनोबलमा रहेको छ ।
योर्गेन क्लोपको लिभरपुलले आर्सनलविरुद्ध मिडफिल्डर थियागो अलाकान्टरालाई सुरुवातमै खेलाउने सम्भावना रहेको छ ।
तर, जोर्डन हेन्डरसन र जोएल माटीपले आर्सनलसँगको खेल गुमाउने छन् । जोइ गोमेज भने टिममा फर्किएका छन् ।
आर्सनललाई खेलाडी चोटको खासै समस्या छैन । त्यसैले आर्सनलले बलियो लिभरपुललाई बलियो चुनौती दिनेछ ।
आर्सनलले पहिलो खेलमा फुलहमलाई ३-० ले हराएको थियो । दोस्रो खेलमा आर्सनलले वेस्ट ह्यामलाई २-१ ले हराएको थियो ।
आर्सनल ६ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको छ । लिभरपुल ६ अंकसहित चौंथो स्थानमा रहेको छ ।
अर्को खेलमा फुलहमले एस्टन भिल्लासँग खेल्नेछ ।