एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मौरो ईकार्डीलाई स्थायी खेलाडीको रुपमा औपचारिक अनुबन्धन गरेको छ ।
पीएसजीले अर्जेन्टिनी फरवार्डलाई ५० मिलियन पाउण्डमा ईटालियन क्लब ईन्टर मिलानबाट स्थायी रुपमा अनुबन्धन गरेको हो ।
पीएसजीले ईकार्डीलाई लोनमा ईन्टरबाट यस सिजनका लागि अनुबन्ध गरेको थियो ।
पछिल्लो समय दुवै क्लबले ईकार्डीलाई पेरिसमै स्थायी सम्झौता दिने बिषयमा सहमती जुटाएका थिए ।
पीएसजीले अर्जेन्टिनी फरवार्डसंग चार बर्षको नयाँ सम्झौता गरेको छ । ईकार्डी अब पीएसजीमा सन् २०२४ सम्मै रहनेछन् ।
‘पीएसजी यस सिजनका लागि ईन्टरबाट लोनमा आएका ईकार्डीलाई स्थायी रुपमा क्लबमै राख्न पाउँदा खुसी छ ।’ पीएसजीले आधिकारिक रुपमा भनेको छ ।
‘पीएसजीमा अनुबन्ध हुने उनी १६ औ अर्जेन्टिनी खेलाडी हुन् । उनले ३१ खेलमा पीएसजीलाई लिग च्याम्पियन बनाउन २० गोल गर्नुका साथै ४ गोलका लागि पास उपलब्ध गराएका थिए ।’ पीएसजीले भनेको छ ।
२७ बर्षका ईकार्डीले अर्जेन्टिनाबाट ८ अन्तराष्ट्रिय क्याप समेत जितेका छन् । ईन्टरसंगको बिग्रदो सम्बन्धका कारण ईकार्डी फ्रान्सेली क्लब पुगेका थिए ।
ईकार्डीलाई औपचारिक रुपमा अनुबन्धन गरेको पीएसजीले आगामी सिजन उरुग्वेका फरवार्ड ईडिन्सन काभानीलाई गुमाउने सम्भावना प्रवल छ ।
काभानी नयाँ गन्तव्यको खोजी गरिरहेका छन् । युरोपका ठुला क्लब उनलाई अनुबन्धन गर्न ईच्छुक छ । लिग वान आएको पहिलो बर्षमै ईकार्डीले लिग च्याम्पियन बन्ने मौका पाए ।
कोरोनाका कारण लिग वान रद्ध गर्दै शीर्ष स्थानको पीएसजीलाई च्याम्पियन घोषणा गरिएको थियो ।