एजेन्सी । लण्डन क्लब चेल्सीका स्टार ओलिभर जिराउडले तीन क्लबले आफुलाई अनुबन्धनको प्रस्ताव गरेको बताएका छन् ।
फ्रान्सका अन्तराष्ट्रिय फरवार्ड जिराउडले प्रिमियर लिग क्लब टोटेनहम सहित तीन क्लबले आफुलाई प्रस्ताव गरेको बताएका हुन् ।
टोटेनहम र लाजियोले अनुबन्धनमा ईच्छा देखाएको उल्लेख गर्दै उनले ईन्टर मिलानको प्रस्ताव आफुलाई आकर्षक लागेको उल्लेख गरे ।
जनवरीमा आफुलाई आएको प्रस्तावको खुलासा गर्दै जिराउडले एन्टोनियो कोन्टे नेतृत्वको ईन्टरसंग जोडिने सम्भावना प्रवल रहेको सुनाए ।
जिराउडले सिजनको पहिलो सत्रमा निकै कममात्र मौका पाएका छन् । मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले टोमी अब्राहामलाई मुख्य फरवार्डको रुपमा अवसर दिने गरेका छन् ।
चेल्सी प्रशिक्षक लाम्पार्ड जिराउडको विकल्पमा नयाँ फरवार्ड ल्याउन सकेका छैनन् । सोही कारण जिराउड लण्डन क्लबमै छन् ।
विश्वकप विजेता खेलाडीका लागि टोटेनहम र लाजियोले समेत अनुबन्धनमा ईच्छा देखाएका छन् ।
लाम्पार्डको सुरुवाती लाईन अपमा नअटाएपछि जिराउड निराश छन् । तर चेल्सीलाई शीर्ष चारमा राख्न उनको सहयोग महत्वपूर्ण छ ।
फ्रान्सका भेट्रान फुटबलरलाई स्टामफोर्डब्रिजमा सम्झौता विस्तारका लागि प्रस्ताव समेत आएको थियो । तर उनले बर्षको सुरुवातमा नयाँ गन्तव्यमा जान आफु उत्सुक रहेको बताएका थिए ।
'सबैलाई थाहा छ, ईन्टरको प्रस्ताव मेरा लागि सबैभन्दा बढी आकर्षक छ ।' उनले एक अन्तरवार्तामा भनेका छन् ।
'लाजियो र टोटेनहमले समेत ईच्छा देखाए । एक प्रश्न थियो, म कहाँ जान सक्छु ? मैले कोन्टेसंग फोनमा कुरा गरेका थिए ।' जिराउडले थपे ।
कोन्टे चेल्सीमा रहँदा आर्सनलबाट जिराउड लण्डन क्लब आएका थिए ।
'निस्कनका लागि केही महिना बाँकी छ । खेल र सायद एक उपाधि जित्नका लागि सयम बाँकी छ । मलाई लाग्छ मसंग अझै दुई वा तीन सिजन छ ।' उनले थपे, 'यो अनुबन्धन र अरु कुरा गर्ने समय हैन । तर जब समय आउँछ, म निर्णय लिनेछु ।'