एजेन्सी । चेल्सीका पूर्व खेलाडी माईकल बालाकले दश बर्ष अघि लण्डन क्लब छाडेकोमा पछुतो लागेको बताएका छन् ।
उनले चेल्सीबाटै सन्यास लिने आफ्नो चाहना रहेको उल्लेख गर्दै लण्डन क्लब छाडेकोमा पछुतो लागेको स्विकार गरेका हुन् ।
जर्मन मिडफिल्डरले प्रिमियर लिगबाटै करियरको अन्त्य गर्ने योजना बनाएका थिए । तर चेल्सीले सन् २००९–१० को सिजनको अन्त्यसंगै बालाकलाई एक बर्षको मात्र सम्झौता नविकरणको प्रस्ताव राखेको थियो ।
बालाकले चेल्सीमा निकै शानदार करियर बिताएका थिए । उनले प्रिमियर लिग, दुई एफ ए कप, लिग कप र कम्युनिटी सिल्ड जितेका थिए ।
सन् २००८ मा च्याम्पियन्स लिगको फाईनल खेल्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए । चेल्सीलाई हराउँदै म्यान्चेष्टर युनाईटेडले च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
स्टामफोर्डब्रिजसंग सम्झौता सकिए लगत्तै बालाकले दुई बर्षको सम्झौता नविकरणको माग गरेका थिए । क्लबको नियम ३० बर्ष माथिको खेलाडीलाई मात्र एक बर्षको मात्र सम्झौता दिने रहेको थियो ।
वेस्ट लण्डन क्लबले बालाकको माग पुरा गर्न नसकेपछि बालाक जर्मन क्लब बायर लिभरकुसनमा फर्किएका थिए । जहाँ उनले आफ्नो परिचय बनाएका थिए ।
स्काई स्पोर्ट्ससंगको अन्तरवार्तामा बालाकले भनेका छन्, 'कार्लोस एन्सेलोटी क्लबमा मलाई राख्न चाहन्थे । तर क्लबले उमेर अनुसार मात्र एक बर्षको सम्झौता नविकरण गर्दथ्यो । तर मैले दुई बर्षको मागेको थिए ।'
'आज लाग्छ, म भन्न सक्छु, त्यो गलत थियो । म एक बर्षको लागि भएपनि बस्नुपर्दथ्यो ।' उनले भनेका छन् ।
'म अन्तिम दिन बायर लेभेरकुसेनमा फर्कनेछु भनेर कहिल्यै कल्पना गर्न सकिन । मैले वास्तवमा चेल्सीमै बाटो खोजेको थियो ।' उनले थपे, 'मलाई आशा थियो कि म अन्त्यसम्म रहनेछु ।'
सन् २०१० मा एफ ए कपको फाईनल जित्दा उनको टाउकोमा चोट लागेको थियो ।
जसले गर्दा उनले दक्षिण अफ्रिकाको विश्वकप खेल्न पाएनन् । र अन्तराष्ट्रिय करियरबाट पछाडी परे । बालाक जर्मनको राष्ट्रिय फुटबल टिमबाट पुनरागमन गर्न समेत असफल रहे ।