झापा । त्रिभुवन आर्मी क्लब हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
पाहुना टोली भारतको सिक्किम आक्रमण एफसीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै आर्मीले फाईनल यात्रा तय गरेको हो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।
टाइब्रेकरमा सिक्किम टोलीका विरेन प्रधान, मनोज काच्वा र करण राईले गोल गरेका थिए । एन्थोनी क्षेत्रीको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाएका थिए । विकास क्षेत्रीको प्रहार बारमा लाग्दै फर्किएको थियो ।
आर्मीका लागि दिपक गुरुङ, विकास तामाङ, राजीव गुरुङ र विवेक बस्नेतले गोल गरे । कप्तान टेकबहादुर बुढाथोकीको प्रहार सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाएका थिए ।
झापाली दर्शकको समर्थन पाएको सिक्किमका खेलाडीले थुप्रै अवसर खेर फालेका थिए । आर्मीका खेलाडीको आक्रमणलाई सिक्किमका गोलरक्षक मनोज प्रधानले विफल तुल्याइदिएका थिए ।
आर्मीको तुलनामा सिक्किमका खेलाडीले अधिकांश समय बल पोजिसनमा पकड बनाएपनि गोल गर्न भने सकेनन् ।
१० टिम सहभागी प्रतियोगिताको दोस्रो सेमिफाईनलमा भोली (शुक्रबार) नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेबीच प्रतिस्पर्धा हुनेछ ।
गोल्डकपको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।