काठमाडौं । एएफसी कप फुटबलमा नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसँग फराकिलो हार व्यहोरेको छ ।
ढाकास्थित बंगबन्धु स्टेडियममा बुधबार भएको अवे खेलमा मनाङ अबहानीसंग ५-० गोल अन्तरले पराजित भएको हो । यो हारसंगै मनाङ एएफसी कपबाट बाहिरिएको छ ।
अबहानीको जितमा नाबिब निवाज जीबोन, केर्भिन्स बेल्फोर्ड,जिवेल राना,सन्डे चिजोबा र होसेन बादसाहले एक एक गोल गरे ।
घरेलु टोलीविरुद्ध पहिलो हाफमा २-० ले पछि परेको मनाङले दोस्रो हाफमा ३ गोल खाएको थियो ।
मनाङविरुद्ध अबहनीले खेलको ११ औं मिनेटमा जीबोनको गोलबाट अग्रता बनाएको थियो । खेलको ४५ औं मिनेटमा बेल्फोर्डले गोल गर्दै अबहानीलाई २-० को अग्रता दिलाए ।
खेलको ६३ औं मिनेटमा जिवेल ले गोल गर्दै अबहानीलाई ३-० को अग्रता दिलाए । ७६ औं मिनेटमा सन्डेले गोल गर्दा अबहानी ४-० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा होसेनले गोल गर्दै अबहानीलाई ५-० को फराकिलो जित दिलाए ।
खेल अवधिभर बल पोजिसनमा पकड जमाएपनि मनाङले उकृष्ट आक्रमण बुन्न सकेन् ।
यसअघि गत अप्रिलमा भएको होम खेलमा मनाङ अबहानीसँग १-० ले पराजित भएको थियो ।
यो हारसंगै समूह 'ई' मा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ । अबहानी ५ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।
यस समूहमा चेन्नायीन एफसी ८ अंक जोडेर दोस्रो र मिनर्वा पन्जाब ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।