काठमाडौं। नेपालको राष्ट्रिय फुटबल संरचनामा एउटा सकारात्मक सुरुआत हुँदैछ, एन्फा यु–१६ युथ लिग। ‘
ए’ डिभिजन लिग खेल्ने १४ क्लबको यु–१६ टोलीलाई प्रतिस्पर्धात्मक संरचनामा ल्याएर ‘युवा विकास’को नारा दिइएको यो लिग शुक्रबारदेखि सुरु हुँदैछ।
तर, उत्साहपूर्ण सुरुआतसँगै एउटा प्रश्न पनि उब्जिएको छ। यति ठूलो संरचना र करोडको बजेटमा पुरस्कार भएको लिगमा किन यति थोरै पुरस्कार?
अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार यो लिगको अनुमानित बजेट १ करोड २ लाख ३६ हजार ३३० रुपैयाँ छ। तर, विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीले १५–१५ हजार रुपैयाँ मात्र पुरस्कार पाउनेछन्।
यो लिग युवा प्रतिभाको सम्मानको लागि हो कि औपचारिकताको? यही प्रश्न खेलपाटीले राख्दा प्रवक्ता सुरेश शाहले भने, ‘यो लिगको मूल उद्देश्य युवालाई एक्सपोजर दिनु हो। ठूलो प्रतियोगिता होइन, स्रोत सीमित छन्। त्यसैले पुरस्कार कम राखिएको हो।’
उनको यो तर्क न्योचित देखिँदैन। अहिले मोफसलमा हुने सामान्य गोल्डकपको पुरस्कार राशि पनि कम्तीमा ५ लाख हुने गरेको छ। त्यसमा पनि बजेट यो भन्दा सानो हुन्छ। नेपालको युवा विकास प्रणालीमा यस्तो लिग तेस्रोपल्ट हुँदैछ। तर, लिगको लागत हरेक वर्ष बढे पनि पुरस्कार रकम भने बढ्न सकेको छैन।
अझ सबै टोलीलाई तयारी खर्च स्वरूप दिने खर्च पनि उही छ। अघिल्ला संस्करण खेल्ने क्लबलाई पनि तयारीस्वरूप ३ लाख ५० हजार रुपैयाँ मात्रै दिइएको थियो।
राउन्ड रोबिनका आधारमा खेलिने यस प्रतियोगितामा १४ वटै ‘ए’ डिभिजन लिग क्लबहरूको सहभागिता रहनेछन्। एन्फा अपिल समितिले निर्णय उल्टाएसँगै थ्री स्टार क्लबको सट्टामा एपिएफले नै लिग खेल्ने छ।
यीबाहेक साबिक विजेता चर्च ब्वाइज युनियन, मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी, हिमालयन शेर्पा, फ्रेन्ड्स क्लब, सातदोबाटो युथ क्लब, संकटा, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र एनआरटीले लिग खेल्नेछन्।
यता, यसै वर्ष शीर्ष डिभिजनमा उक्लिएका प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लबलाई पनि लिगमा स्थान दिइएको छ। नेपालजस्तो राष्ट्रमा यस्ता उमेर समूहका लिग नियमित हुन थालेका छन्। जुन सकरात्मक पक्ष हो। यस्तोमा एन्फाले पहल लिनु, लिगको ढाँचा बनाउनु र बजेटको व्यवस्थापन गर्नु धेरै राम्रो कुरा हो।
तर, यस्ता लिगले जब आफ्नो मूल्यांकन आफैं सानो बनाउँछ (पुरस्कार कम राखेर), तब त्यो प्रतिस्पर्धा होइन अनौपचारिक अभ्यास जस्तो लाग्न सक्छ। जुन एन्फाले यसपल्ट बनाउने तर्खर गरेको देखिन्छ।