काठमाडौं । नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप फुटबलमा अहिले बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ढाकास्थित बंगबन्धु स्टेडियममा जारी खेलमा मनाङ ४-० ले पछि परेको छ । खेलको पहिलो हाफ सकिदा २-० ले पछि परेको मनाङले दोस्रो हाफमा थप दुई गोल खाएको हो ।
खेलको ६३ औं मिनेटमा जिवेल रानाले गोल गर्दै अबहानीलाई ३-० को अग्रता दिलाए । यस्तै खेलको ७६ औं मिनेटमा सन्डे चिजोबाले गोल गर्दै अबहानीलाई ४-० को अग्रता दिलाए ।
त्यसअघि मनाङले खेलको ११ औं मिनेटमा पहिलो गोल खाएको थियो । अबहानीका नाबिब निवाज जीबोनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा केर्भिन्स बेल्फोर्डले गोल गर्दै अबहानीलाई २-० को अग्रता दिलाए ।
आज मनाङ घरेलु मैदानमा व्यहोरेको हारको बदला लिने योजनासहित मैदान उत्रिएको छ ।
यसअघि गत अप्रिलमा भएको होम खेलमा मनाङ अबहानीसँग १-० ले पराजित भएको थियो । तर, आज मनाङ अबहानीसँग उसैको मैदानमा पराजित गर्न चाहन्छ ।
समूह 'ई' मा रहेको मनाङले ४ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ । अबहानी ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ ।
यस समूहमा चेन्नायीन एफसी ७ अंक जोडेर शीर्ष र मिनर्वा पन्जाब ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।