काठमाडौं । विरेन्द्रनगर नगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
हलचोकस्थित एपीएफको मैदानमा बुधबार हेटौडा उपमहानगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै विरेन्द्रनगरले विजयी सुरुवात गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा आत्मघाती गोलबाट विरेन्द्रनगरले जित निकालेको हो । विरेन्द्रनगरको जितमा २७ औं मिनेटमा हेटौडाकी केसरी पाख्रिनले आत्मघाती गोल गरिन् ।
जितसंगै समूह 'बी' को विरेन्द्रनगरले पहिलो खेलबाट ३ अंक जोडको छ । हेटौडाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यस समूहमा विरेन्द्रनगर र हेटौडासंगै कावासोती नगरपालिका, चौदण्डी गढी नगरपालिका र पोखरा महानगरपालिका रहेका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका समूह विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । स्याङ्जाको वालिङ नगरपालिकाले समूह 'ए' बाट सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।