काठमाडौं । एएफसी कप फुटबलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले आज (बुधबार) बंगलादेशको ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
ढाकास्थित बंगबन्धु स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका साढे ५ बजे सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मनाङलाई हारको बदला लिने योजनामा हुनेछ ।
यसअघि गत अप्रिलमा काठमाडौंमा भएको खेलमा मनाङ अबहानीसँग १–० ले पराजित भएको थियो । तर, मनाङ घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्ने दाउमा हुनेछ ।
त्यसका लागि मनाङलाई सुधारिएको प्रदर्शन अनिवार्य शर्त बन्नेछ । अघिल्लो खेलमा अवहानीलाई दबाबमा राख्नुका बाबजुत गोल गर्न नसक्दा मनाङले हार ब्यहोरेको थियो ।
अघिल्लो खेलमा भन्दा सुधारिएको प्रदर्शन गर्दै अवहानीविरुद्व जित निकाल्ने मनाङका प्रशिक्षक छिरिङ लोप्साङ बताउँछन् ।
उनले अघिल्लो खेलमा राम्रो प्रर्दशन गरेपनि जित्न नसकेको स्विकार गर्दै दोस्रो लेगको खेलमा जित निकाल्ने दाबी गरे । उनले कृतिम मैदानमा खेल्न खेलाडीलाई असहज भएको स्विकार गर्दै बंगलादेशको घाँसे मैदानमा आफ्नो स्वभाविक खेल पस्किने बताए ।
उता, कप्तान विराज महर्जनले राष्ट्रिय टिममा भएका कारण राम्रो तयारी गर्न नपाएको बताउँदै महत्वपुर्ण खेलमा जित निकाल्ने बताए । ‘खेल दुवै टिमका लागि उत्तिकै महत्वपुर्ण छ । अवहानी निकै राम्रो र बलियो टिम हो । अघिल्लो खेलमा गोलको अवसर पाएका थिएनौ । सुधारिएको खेल प्रर्दशन गर्दै नतिजा आफ्नो पक्षमा पार्नेछौ ।’ उनले भने ।
बंगलादेशी भुमि आफ्नो खेल जिवनको निर्णायक स्थान भएको बताउँदै उनले आत्मविश्वासी भएर राम्रो खेल प्रर्दशन गर्ने बाचा गरे ।
समूह ’ई’ मा रहेको मनाङले ४ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ । अबहानी ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहमा चेन्नायीन एफसी ७ अंक जोडेर शीर्ष र मिनर्वा पन्जाब ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।