काठमाडौं । घोराही तुल्सीपुर नगरपालिकाले राजधानीमा जारी उप-पमेयर कप अन्तर नगरपालिका महिला फुटबलमा पहिलो जित निकालेको छ ।
मंगलबार भएको खेलमा शम्भुनाथ नगरपालिकालाई १०-० गोल अन्तरले पराजित गर्दै तुल्सीपुरले पहिलो जित निकालेको हो ।
हलचोकस्थित एपीएफको मैदानमा तुल्सीपुरको जितमा ममता पुन मगरले तेहेरो ह्याट्रिक गरिन् । ममताले खेलको २, ५, २४, ३५, ४४, ६१, ७३, ७७ र ८२ औं मिनेटमा गरि ९ गोल गरिन् । यस्तै एक गोल टिका केसीको नाममा रह्यो ।
समूह चरणको अन्तिम लिग खेलमा फराकिलो जित निकालेपनि तुल्सीपुरले सेमिफाइनलमा स्थान बनाउन सकेन् । तुल्सीपुरको यो जित सान्त्वना जित रह्यो ।
जितपछि समूह ‘ए’ को तुल्सीपुरले ४ अंक जोड्यो । शम्भुनाथ जितविहीन बन्यो ।
यस समूहबाट वालिङ नगरपालिका सेमिफाइनलमा पुग्यो । वालिङले ७ अंक जोडेको छ । ७ अंक जोडेपनि गोल अन्तरमा पछि पर्दा बाँसगढी नगरपालिका पनि बाहिरिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका समूह विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । स्याङ्जाको वालिङ नगरपालिकाले समूह 'ए' बाट सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।