एजेन्सी । इन्ग्लिश क्लब टोटनह्यामको घरेलु मैदान 'ह्वाइट हर्ट लेन' को पुननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
टोटनह्यामले हालै 'ह्वाइट हर्ट लेन' स्टेडियमको केहि तस्विर सार्वजनिक गर्दै रंगशाला निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । टोटनह्यामले रंगशालाको भित्री भागहरु आकर्षक डिजाइनको तस्विरहरु सार्वजनिक गरेको छ ।
निकै आधुनिक शैली र उच्च प्रविधिबाट निर्माण गरिएको यो रंगशाला यसै सिजनको सेप्टम्बरबाट खुल्ला हुनेछ । यो सन् २०१७ बाट पुनः निर्माण गर्न थालिएको थियो । टोटनह्यामले लिभरपुलविरुद्ध खेल्दै नयाँ रंगशालाको उद्घाटन हुनेछ । सेप्टेम्बर १५ मा लिभरपुलविरुद्ध खेल्दै टोटनह्याम ह्वाइट हर्ट लेन फर्कनेछ । त्यसअघि टोटनह्यामले वेम्बलीमा होम गेम खेल्नेछ । गत सिजन टोटनह्यामले इंग्ल्यान्डको राष्ट्रिय रंगशाला वेम्बलीलाई घरेलु मैदानको रुपमा प्रयोग गरेको थियो ।
यो रंगशालामा फुटबलसंगै अमेरिकन फुटबल समेत खेल्न मिल्ने छ । यो रंगशालामा अमेरिकन फुटबल लिग क्लब लन्डन मोनार्च्स क्लबको घरेलु मैदानमा पनि हो । यो रंगशालामा ६२ हजार दर्शक क्षमताको हुनेछ । यसअघि यो रंगशाला ३८ हजार दर्शक क्षमताको रहेको थियो ।













