काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । शनिबार भएको खेलमा पुलिसले आर्मीलाई ५० रनले पराजित गरेको हो । हारका बाबजुत आर्मी सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको १६२ रनको सामान्य लक्ष्य पछ्याएको आर्मी ४२ ओभर ३ बलमा १११ रन जोड्दा अलआउट भयो ।
आर्मीका लागि हरि बहादुर चौहानले सर्वाधिक ३४ रन जोडे । यस्तै राजु रिजाल र रोहित कुमार पौडेलले समान १६/१६ रन बनाए । कप्तान बिनोद भण्डारी सुन्य रनमा आउट हुँदा जितेन्द्र मुखियाले १२ तथा सुशन भारीले अविजित १० रन जोडे ।
आर्मीलाई सस्तैमा समेट्न पुलिसका ललित राजवंशीले ३ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४८ ओभर ४ बलमा अलआउट हुँदै १६१ रन बनाएको थियो ।
पुलिसका लागि कप्तान मन्जित श्रेष्ठले ३६ तथा आरिफ शेखले ३४ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले २९ रन जोड्दा दिलिप नाथले १४ र अनिल साहले १३ रन बनाए । सुनिल धमला ५ रनमा आउट हुँदा अमित श्रेष्ठ ४ रनमा आउट भए ।
पुलिसलाई सस्तैमा समेट्न आर्मीका साहब आलमले ३० रन खर्चेर ४ विकेट लिए । करण केसीले २ विकेट हात पारे ।
जितसंगै पुलिसले ३ खेलबाट ६ अंक जोडेको छ । र, पुलिसले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । पुलिस तालिकाको दोस्रो स्थानमा छ ।
पराजित आर्मीले ४ खेलबाट ६ अंक जोडेको छ । शीर्ष स्थानको आर्मी भने सेमिफाइनलमा पुगेको छ । आर्मी उच्च नेट रन रेटको कारण शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।
अब पुलिस र प्रदेश नम्बर २ मध्ये एक टिम सेमिफाइनलमा पुग्ने छन् । पुलिस र प्रदेश २ बीच आइतबार प्रतिस्पर्धा गर्ने छन् ।