काठमाडौं । भारतीय क्रिकेट प्रशिक्षक उमेश पटवाल औपचारिक रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रमकाबीच पटवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । राखेपका सदस्यसचिब केशब कुमार बिष्ट र प्रशिक्षक पटवालबीच एक बर्षे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपालले घरेलु भूमिमा आयोजना हुने साग गेम्सलाई केन्द्रित गरेर पटवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । यसअघि नेपाली टिम जगत टमटाले हेर्दै आएका थिए ।

सम्झौतासंगै पटवालले मासिक ७ हजार अमेरिकी डलर पाउनेछन् । पटवालको तलब भत्ता लगायतको सम्पूर्ण खर्च आईसीसीले व्यहोर्नेछ ।
प्रशिक्षक पटवालले सुरुवातमा साग खेल्ने नेपालको यू-२३ टिम हेर्नेछन् ।
पटवालले यसअघि नेपाली टिमको ब्याटिङ प्रशिक्षक भएर काम गरेका थिए । यस्तै पटवालले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको प्रतियोगिता निर्देशक भएर काम गरेका थिए ।
नेपाल आउनुअघि पटवालले अफगानिस्तानको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरेका थिए ।
