काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर २ ले दोस्रो जित दर्ता गरेको छ ।
शनिबार भएको खेलमा प्रदेश १ लाई १६१ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश २ ले दोस्रो जित निकालेको हो ।
मुलपानी क्रिकट मैदानमा प्रदेश २ ले दिएको २६६ रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश १ ले २८ ओभर ५ बलमा अलआउट हुँदै १०४ रन मात्र बनाउन सक्यो ।
प्रदेश १ का लागि मनिष थापाले सर्वाधिक ३६ तथा सन्नी पुनले २९ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
प्रदेश १ लाई सस्तैमा समेट्न २ नम्बर प्रदेशका कुमार थापाले एक्लैले ७ विकेट लिए । कुमारले ८ ओभरमा २ मेडनसहित मात्र २२ रन खर्चिए । यस्तै दिभ्यान्सु मल्लिकले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २६५ रन बनाएको थियो ।
प्रदेश २ का लागि सुरज पटेलले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै राशिद खानले ४७ तथा हरिशंकर साहले ३१ रन जोडे ।
त्यस्तै रबि साह,बिशाल शुस्लिङ र हसिम अन्सारीले समान २०/२० रन जोडे । प्रदेश १ का पुष्प थापाले ३ तथा सरोज बस्नेतले २ विकेट लिए ।
जितसंगै समूह 'बी' को प्रदेश २ ले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । प्रदेश २ ले ३ खेलबाट ४ अंक जोडेको छ । प्रदेश २ तालिकाको दोस्रो स्थानमा छ ।
प्रदेश १ भने बाहिरिएको छ । प्रदेश १ ले ४ खेलमा २ अंक जोड्यो । यस समूहबाट कर्णाली प्रदेश ४ खेलमा पराजित हुँदै यसअघि नै बाहिरिसकेको छ ।