काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि १६२ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४८ ओभर ४ बलमा अलआउट हुँदै १६१ रनमा समेटियो ।
पुलिसका लागि कप्तान मन्जित श्रेष्ठले ३६ तथा आरिफ शेखले ३४ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले २९ रन जोड्दा दिलिप नाथले १४ र अनिल साहले १३ रन बनाए । सुनिल धमला ५ रनमा आउट हुँदा अमित श्रेष्ठ ४ रनमा आउट भए ।
पुलिसलाई सस्तैमा समेट्न आर्मीका साहब आलमले ३० रन खर्चेर ४ विकेट लिए । करण केसीले २ विकेट हात पारे ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । समूह बीको शीर्ष टोली आर्मी समूह चरणको अन्तिम खेलमा जित निकाल्दै सेमिफाईनल प्रवेश गर्न चाहन्छ ।
यस्तै पुलिस समेत अघिल्लो चरण प्रवेशको यात्रा सहज बनाउन आर्मीविरुद्व जित निकाल्न चाहन्छ ।