काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमटाले आवश्यक परेको खण्डमा नेपाली क्रिकेट टिमलाई सहयोग गर्न आफु सधै तयार रहेको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भारतीय क्रिकेट प्रशिक्षक उमेश पटवाललाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि टमटाले सामाजिक सन्जालबाट नेपाली टोलीलाई सहयोग गर्न आफु प्रतिबद्द रहेको बताए ।
'नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आवश्यक परेको खण्डमा सहयोग र समर्थन गर्न म प्रतिबद्द रहेको छु,' टमटाले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ।
राखेपले शुक्रबार पटवाललाई १ बर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । यसअघि नेपाली टिम टमटाले हेर्दै आएका थिए ।
यस्तै प्रशिक्षक टमटाले पटवाललाई बधाई दिदै आफ्नो कार्यकालमा सहयोग पुरर्याउनेलाई धन्यवाद समेत दिएका छन् ।
'राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएकोमा उमेश पटवाललाई बधाई दिन चाहन्छु,' प्रशिक्षक टमटाले खेलेका छन्, 'मेरो कार्यकालमा सहयोग गर्नु हुने राखेप,नेपाल क्रिकेट टिम, पत्रकार,अफिसियल र समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु ।'
पाँच बर्षअघि क्यानेडियन प्रशिक्षक पुबुदु दशानायके फर्किएपछि टमटाले नेपाली टिम हेर्दै आएका थिए । टमटाको नेतृत्वमा नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता र ऐतिहासिक एकदिवसीय र टी-ट्वान्टी सिरिज जितेको थियो ।