काठमाडौं । एएफसी यू-२३ च्याम्पियनसिपको छनोटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) ओमानसंग प्रतिस्पर्धा गर्दैछ ।
कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा नेपालले ओमानको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्न लागेको हो । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।
ओमानविरुद्ध मैदान उत्रदा नेपाल सकारात्मक नजिता ल्याउने योजनासहित मैदान उत्रने छ ।
प्रि म्याच कन्फरेन्समा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बलिया टोलीविरुद्ध दबाबरहित सकारात्मक नजिता ल्याउने योजनासहित मैदान उत्रने बताए ।
‘फिफा वरियता, पूर्वाधार, प्रदर्शन सबै हिसाबले ओमान हामीभन्दा बलिया छन्, हामीले हाम्रो शतप्रतिशत दिएर खेल्नेछौं सकारात्मक नतिजाको अपेक्षा गछौं,’ प्रशिक्षक महर्जनले भने ।
फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा छ । ओमान नेपालभन्दा ७१ स्थान माथि अर्थात ९० औं स्थानमा रहेको छ ।
तर, यू–२३ उमेर समूहमा नेपाल र ओमान पहिलो पटक खेल्न लागेका हुन् । सिनियर टोलीमा भने नेपालविरुद्ध ओमान हाबी हुन्डिया आएको छ ।
यस्तै प्रशिक्षक महर्जनले खेलाडीहरु नकआउट प्रतियोगितामा व्यस्त रहेका कारण छोटो तयारीको बाबजुत टिम तयार गरेको बताए ।
‘अभ्यासमा खेलाडीहरुले एक से एक प्रदर्शन गरिरहेका छन्,' महर्जनले थपे, 'मलाई सेट तयार पार्न पनि कठिन भइरहेको छ । जुन सकारात्मक कुरा पनि हो ।’
यस्तै ओमानका प्रशिक्षक हमाद अजानीले टिममा नयाँ अनुहारको बाहुल्य रहेको र उनीहरु सकारात्मक नतिजाका लागि उत्साही रहेको बताए ।
‘छोटो तयारीका साथ हामी प्रतियोगिताका लागि आएका छौं । टिममा धेरैजसो नयाँ अनुहार छन् । तर पनि हाम्रा खेलाडीहरु उत्साही छन्,’ प्रशिक्षक अजानीले भने ।
छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा मार्च २४ मा आयोजक कतार र अन्तिम खेलमा नेपालले मार्च २६ मा अफगानिस्तानसंग खेल्नेछ ।
छनोटको शीर्ष टोलीले एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।