काठमाडौं। बायर्न म्युनिखले आफ्नो आक्रामक मिडफिल्डर जमाल मुसियालाको खुट्टाको हड्डी भाँचिएको पुष्टि गरेको छ।
क्लब विश्वकपको क्वार्टरफाइनलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी)का गोलकिपर जानलुइजी डोन्नारुम्मासँग ठोक्किएपछि उनी गम्भिर घाइते भएका थिए।
बायर्नले आइतबार जारी गरेको विज्ञप्तिमा मुसियालालाई शनिबारको खेलमा लागेको चोटको शल्यक्रिया गराउन फ्लोरिडाबाट म्युनिख फर्काइएको उल्लेख छ।
डाक्टरले मुसियालाको तल्लो खुट्टाको फिबुला हड्डीमा फ्र्याक्चर देखिएको र त्यससँगै एङ्कल पनि डिस्लोकेट भएको पत्ता लगाएका छन्।
‘यो गम्भीर चोट र लामो समयको विश्राम जमालका लागि मात्र होइन, हामी सबैका लागि पनि ठूलो झट्का हो,’ बायर्न म्युनिखका खेल निर्देशक म्याक्स एबरलले विज्ञप्तिमा भने।
उनी भर्खरै मात्रै अघिल्लो चोटबाट फर्किएका थिए। अब फेरि लामो समयका लागि मैदान बाहिर बस्नुपर्नेछ। उनलाई आवश्यक सम्पूर्ण सहयोग गर्ने एबरलले बताए।