काठमाडौं । पहिलो अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कुवेतसंग बराबरी खेलेको छ ।
बिहिबार भएको खेलमा नेपालले फिफा वरियतामा ३ स्थान माथिको कुवेतसंग गोलरहित बराबरी खेलेको हो । फिफा वरियतामा नेपाल १६१ औं स्थानमा रहेको छ । कुवेत १५८ औं स्थानमा रहेको छ ।
अल साहबब मैदानमा घरेलु टोलीले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल हारबाट जोगिएको हो । कुवेतका कप्तान बाडेर अल मुतवाले खेलको ६६ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् ।
डेब्यु खेलाडी अजित भण्डारीले बिपक्षि खेलाडीलाई डिबक्सभित्र गरेपछि पाएको पेनाल्टीमा कप्तान मुतवाले गोल गर्न सकेनन् । उनको प्रहार आकाशिएको थियो ।
यस्तै कुवेतलाई बराबरीमा रोक्न गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे । कुवेतले पटक पटक गरेको आक्रमण किरणले उत्कृष्ट बचाऊ गरे ।

नेपालले पनि खेलमा केहि गोल गर्ने अवसर पाएको थियो । तर, सदुपयोग गर्न सकेनन् ।
कुवेतविरुद्ध नेपालका पाँच खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । मुख्य प्रशिक्षक योहान कालिनले पाँच युवा खेलाडीलाई मौका दिएका थिए । अजितसंगै बिमल राना,सन्तोष तामाङ, सुरज बिश्वकर्मा र रबी पासवानले नेपाली टोलीमा डेब्यु गरेका हुन् ।
कुवेतसंगको बराबरीसंगै मुख्य प्रशिक्षक कालिनको डेब्यु खेल सुखद नै बनेको छ । नेपालले गत महिना कालिनलाई नेपाली टोलीको जिम्मेवारी दिएको थियो ।
योसंगै नेपालले १९ बर्षपछि कुवेतसंग बराबरी खेल्न सफल भएको छ । यसअघि सन् २००० मा एएफसी एसिया कपमा नेपालले कुवेतसंग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।

दुई मैत्रीपुर्ण खेल खेल्ने कुवेत पुगेको नेपाली टोलीले अब मंगलबार दोस्रो खेल खेल्नेछ । मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएसंगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।