एजेन्सी । इङ्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा युनाइटेडले क्रिष्टललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
क्रिष्टलको मैदानमा युनाइटेडलाई जित दिलाउन रोमेरो लुकाकुले दुई गोल गरे । यस्तै एस्ले योङले एक गोल गरे । क्रिष्टलका जोएल वार्डले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाए ।
खेलको ६६ औं मिनेटमा वार्डले गोल गर्दै क्रिष्टललाई खेलमा फर्काउने कोशिस गरे । तर, खेलको ८३ औं मिनेटमा योङले गोल गर्दै युनाइटेडलाई ३-१ को सहज जित दिलाए ।

जितसंगै युनाइटेडले सबै खाले प्रतियोगिताको अवे खेलमा लगातार आठौं जितको कीर्तिमान बनाएको छ । यसअघि युनाइटेड अवे खेलमा लगातार आठ जित निकाल्न सकेको थिएन् ।
जितपछि पाँचौ स्थानको युनाइटेडले २८ खेलबाट ५५ अंक जोडेको छ । पराजित क्रिष्टल ३० अंकसहित १४ औं स्थानमा छ ।
