काठमाडौं । आहा रारा गोल्डकप फुटबलको १७ औँ संस्करणको पहिलो सेमिफाईनल खेलमा रुस्लान थ्री स्टार र एपीएफ भिड्दैछन् । पोखरा रंगशालामा (बुधबार) हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ ।
दुबै टिम खेल जित्दै फाईनल यात्रा तय गर्न चाहन्छन् ।
यसअघि बाई पाएर सिधै क्वार्टरफाइनल खेलेको थ्री स्टारले अनिल गुरुङको ह्याट्रिकको मद्धतमा सिक्किम युनाईटेडलाई ५–२ ले हराएको थियो । यता एपीएफले भने क्वार्टरफाईनलमा लिग विजेता मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले पराजित गरेको थियो ।
थ्री स्टार सिमरा गोल्डकपको विजेता तथा खप्तड गोल्डकपको उपविजेता टिम हो । एपीएफ मनकामना केबलकार पोखरा कपको उपविजेता टोली हो ।
प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।