काठमाडौं । क्यामरुनको दाउफिन्स एफसी पोखरामा जारी २१ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा साबिकको विजेता नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै दाउफिन्सले अन्तिम चारको यात्रा तय गरेको हो ।
पोखरा रंगशालामा निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको चौथो मिनेटमै गोल गर्दै दाउफिन्सले सेमिफाइनल यात्रा तय गर्याे । अतिरिक्त समयमा दाउफिन्सका लागि यात्रिक ओवानाले गोल गरे ।
त्यसअघि खेलको ३७ औं मिनेटमा बिइक बिइकले गोल गर्दै दाउफिन्सलाई अग्रता दिलाएका थिए । कर्नर बलमा नेपाल पुलिस क्लबका गोलरक्षक शत्रुधन चौधरी अगाडि बढेको अवस्थामा बिइकले गोल गरेका थिए ।
तर, खेलको अतिरिक्त समयमा कप्तान सुमन सुवेदीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । उनले सुमन लामाको कर्नर बलमा गोल गरेका थिए । लामो समय मैदान बाहिर रहेका सुमनले दाउफिन्सविरुद्ध पुलिसको कप्तानी सम्हालेका थिए ।
यो जितसंगै दाउफिन्सले पुलिसविरुद्ध लगातार दोस्रो दिन जित निकालेको छ । पुलिस र दाउफिन्स २४ घण्टा बित्न नपाउँदै प्रतिस्पर्धा गरेका हुन् ।
सोमबार भएको तिलोत्तमा गोल्डकपको फाइनलमा दुई क्लबले प्रतिस्पर्धा गरेका थिए । जसमा पुलिस क्लब सडन डेथमा दाउफिन्ससंग पराजित भएको थियो ।
योसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । यसअघि विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।