काठमाडौं । दोस्रो संस्करणको भुगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल फागुन अन्तिम साताबाट आयोजना हुने भएको छ ।
आयोजक मकवानपुर जिल्ला फुटबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २९ देखि चैत ९ गतेसम्म आयोजना हुने जानकारी गराएको छ ।
हेटौडामा आयोजना हुने प्रतियोगितामा १० देखि १२ टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा अहिलेसम्म मनाङ मर्स्याङदी, आयोजक नवजागृति क्लब, त्रिभुवन आर्मी क्लब, थ्री स्टार क्लब,हिमालयन शेर्पा,नेपाल पुलिस क्लब,एपीएफ क्लब, च्यासल युथ क्लब, संकटा क्लब, एआरटी र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्ने पक्का भएको संघका अध्यक्ष टिका राम लामाले जानकारी गराए ।

प्रतियोगिताको विजेताले ८ लाख नगद पुरस्कार प्राप्त गर्दा उपविजेताले ४ लाख पाउने छ । यस्तै सर्वोकृष्ट खेलाडीले ५० हजार, विधागत उत्कृष्ट हुनेले २० हजार र म्यान अफ दि म्याचले १० हजार पाउने छन् ।
प्रतियोगिता भुगर्भ सिमेन्टको मुख्य प्रायोजनमा हुनेछ । आयोजक मकवानपुर जिल्ला फुटबल संघले सिमेन्टसंग मंगलबार नै एक बर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
संघका अध्यक्ष लामा र सिमेन्टका अध्यक्ष पिताम्बर गैरेले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासंगै सिमेन्टले प्रतियोगिताका लागि भ्याट बाहेक १० लाख उपलब्ध गराउने छ ।
सम्झौतापछि बोल्दै सिमेन्टका अध्यक्ष गैरेले व्यापारसंगै खेलकुदसंग सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।
'प्रायोजक गर्न पाउदा गौरवान्वित भएका छौं । व्यापारमा मात्र हैन हामी खेलकुदमा पनि अघि बढ्न चाहन्छौ,' अध्यक्ष गैरेले भने ।