एजेन्सी । ब्राजिली स्टार नेयमारले बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीप्रति ठुलो सम्मान रहेको बताएका छन् । उनले क्लबमा रहदाँ बार्सिलोनाका स्टारले आफुलाई स्पेनिस क्लबमा फैलन गरेको मदतको खुलेर प्रशंसा गरेका छन् । नेयमारले बार्सिलोनामा चार बर्ष बिताएका थिए । उनले त्यो समय दुई ला लिगा, तीन कोपा डेल रे र च्याम्पियन्स लिग जितेका थिए ।
नेयमारको मेस्सी र लुईस सुआरेजसंग समेत सहकार्य निकै जमेको थियो । सन् २०१७ मा ब्राजिली स्टार नेयमारले कीर्तिमानी मुल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी जाने निर्णय गरेका थिए ।
फ्रेन्च राजधानीमा नेयमार यतिबेला केलियन एम्बाप्पे र इडिन्सन काभानीसंग जमिरहेका छन् । तर उनी अझैपनि बार्साका कप्तान मेस्सीसंग गहिरो सम्पर्कमा छन् ।
पछिल्लो एक अन्तरवार्तामा नेयमारले बार्सामा सहयोगको आवश्यकता पर्दा मेस्सीले आफुलाई सहयोग गरेको बताए ।
‘यो यस्तो कथा हो, मैले सबैसंग भनिसकेको छु । जति बेला मलाई निकै सहयोगको खाँचो थियो, त्यो समय टिमको सदस्य र विश्वका उत्कृष्ट मानिस मसंग आए र प्रेम दिए ।’ मेस्सीतर्फ ईङ्गित गर्दै उनले भने ।
फ्रान्सबाट निस्किएपछि नेयमार पुरानै क्लब बार्सा वा रियल मड्रिड जाने चर्चा छ ।
स्पेन फर्कने बिषयमा नेयमारले भने, ‘यो निकै गाह्रो छ । ईमान्दारीताका साथ भन्दा यो निकै गाह्रो प्रश्न हो । मेस्सी मेरा लागि बार्सिलोनाका निकै बिशेष मान्छे हुन् ।’
नेयमार २१ बर्षको उमेरमा स्पेनिस क्लब बार्सिलोनामा आबद्व भएका थिए ।
बार्सिलोनाको दिन सम्झदै नेयमारले भने, ‘उनले मलाई भनेका थिए, नजिक आउ, तिमी आफैले गर्ने हो, तिमी खुसी हुन आवश्यक छ, जसरी पुर्व क्लब सान्तोसमा थियौ । लजाउन कुनै आवश्यक छैन । डराउन समेत आवश्यक छैन, क्लब र मसंग समेत । हामी सबै तिमीलाई सहयोग गर्न यहाँ छौ ।’
पछिल्लो समय नेयमार चोटका कारण मैदान बाहिर छन् । पैतलाको चोटको सल्यक्रिया गराएका नेयमार आराम गरिरहेका छन् ।