काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज (मंगलबार) विभागीय टोली नेपाल पुलिस क्लब र क्यामरुनको दाउफिन्सबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा हुने अन्तिम क्वार्टरफाईनल खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ ।
२४ घण्टा वित्न नपाउँदै दुवै टोली अर्काे प्रतियोगितामा भिड्न लागेका हुन् । सोमबार भएको २१ औँ संस्करणको तिलोत्तमा गोल्डकपको फाईनलमा दुई क्लबले प्रतिस्पर्धा गरेका थिए । पुलिस क्लब सडन डेथमा दाउफिन्ससंग पराजित भएको थियो । आहा राराको साविक विजेता पुलिस तिलोत्तमा गोल्डकपमा फाइनलमा ब्यहोरेको हारको बदला लिन चाहन्छ ।
मोफसलका प्रतियोगिता खेल्न नेपाल आएको दाउफिन्सले तीन उपाधि जितेको छ । मनकामना केबलकार पोखरा कप, बुढासुब्बा गोल्डकप र तिलोत्तमाको उपाधि उसले हात पारेको छ । पुलिस खप्तड गोल्डकप विजेता टिम हो भने तिलोत्तमा गोल्डकपको उपविजेता टिम हो ।
प्रतियोगितामा दुबै क्लबले बाई प्रतियोगिता खेल्न लागेका हुन् । यसअघिको खेलमा विजयी हुँदै विभागीय एपीएफ , त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ