काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोली घरेलु मैदानमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेलमा मैदानमा उत्रँदैछ। प्रशिक्षक म्याट रसका अनुसार यो एक सामान्य मैत्रीपूर्ण खेल मात्रै होइन। यो त घरेलु टोलीका लागि आफ्नो तयारी र क्षमतालाई परीक्षण गर्ने सुनौलो अवसर हो।
शुक्रबार आयोजित प्रि–म्याच प्रेस कन्फेरेन्समा उनले बंगलादेशको टोलीको क्षमताबारे सम्मान जनाउँदै भने, ‘हाम्रो तयारी राम्रो भएको छ। घरेलु दर्शकको अगाडि खेल्दा उत्कृष्ट प्रतिस्पर्धा हुनेछ र हामी जित्नेमा विश्वास पनि छ।’ रसका शब्दमा जित मात्र लक्ष्य होइन खेलाडीहरूको आत्मविश्वास र टोलीको सामूहिक तालमेल देखाउने यो खेल पनि महत्त्वपूर्ण छ।
कप्तान किरण चेम्जोङले पनि टोलीको तयारीको सकारात्मक मूल्यांकन गरे। ‘मैले अधिकांश प्रशिक्षणहरूमा भाग लिन सकिनँ, तर टोलीको तयारी राम्रो छ। म पनि खेलका लागि पूर्ण रूपमा तयार छु। घरेलु मैदानमा खेल्न पाउँदा उत्साहित छु र खेल रोचक हुने आशा छ,’ उनले भने।
बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेरा पनि उत्साहसहित काठमाडौं आएका छन्। ‘नेपाल आउनुअघि नै हाम्रो तयारी राम्रो थियो। नेपाली टोलीसँगको खेलले हामीलाई आगामी प्रतियोगिताका लागि राम्रो परीक्षण दिनेछ। यो चुनौतीपूर्ण खेल हुनेछ,’ उनले भने। जेभियरले लेसेस्टर सिटीका अनुभवी खेलाडी हम्जा चौधरीको अनुपस्थितिको कारण पनि स्पष्ट पार्दै भने, ‘उनको दायाँ खुट्टामा समस्या छ, त्यसैले मैत्रीपूर्ण खेलमा रिस्क लिन चाहेनौं।’
नेपाल र बंगलादेशबीचको पहिलो खेल शनिबार साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ भने दोस्रो खेल मंगलबार हुनेछ। विजेताको निर्णय समग्र नतिजामा आधारित हुनेछ। यदि दुवै खेलमा समान नतिजा आए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता घोषणा गरिनेछ।