काठमाडौं। एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा खेलका दौरान अप्रिय घटना र विवाद बढिरहेको भन्दै १० क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ध्यानाकर्षण गराएका छन्।
प्रतियोगितालाई युवा फुटबल विकासको लागि इलाइट तहको कार्यक्रमको रूपमा सञ्चालन गर्ने सहमति भएपनि निर्णायक तथा म्याच अफिसियलहरूले देखाएको व्यवहारले खेल भावनाविपरीत कार्यहरू भइरहेको क्लबको ठहर छ। यसले प्रतियोगिताको गरिमा र महत्त्वमा प्रतिकूल प्रभाव पारेको क्लबको दाबी छ।
प्रतियोगितामा सहभागी फ्रेन्ड्स, हिमालयन शेर्पा, मनाङ मर्स्याङ्दी, सातदोबाटो युथ, जावलाखेल युथ, मच्छिन्द्र, चर्च ब्वाइज, एनआरटी र टोखा भगवती क्लबले आपसी भाइचारा र सहकार्यको भावना कायम राख्दै प्रतियोगितामा सहभागिता जनाइरहेको बताएका छन्। तर, हाल आएर झगडा, विवाद र अन्य असम्मानजनक घटना हुँदा प्रतियोगिताको उद्देश्यमा बाधा पुगेको क्लबको ठहर छ। त्यसैले बाँकी खेलमा निर्णायक तथा म्याच अफिसियल परिवर्तन गर्ने र विवादित अधिकारीहरूलाई जिम्मेवारी नदिन १० क्लबले एन्फा महासचिव किरण राई समक्ष माग गरेका छन्।
साथै, प्रतियोगिताका बाँकी खेलहरू व्यवस्थित रूपमा सञ्चालन गर्न क्लब अध्यक्ष र महासचिवहरूको उपस्थितिमा एन्फा अध्यक्ष तथा महासचिव सहित प्रतियोगिता संचालन समिति, निर्णायक र एलओसी, म्याच कमिशनरहरूको संयुक्त बैठक आह्वान गर्न आग्रह गरिएको छ।