राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

काठमाडौं। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमारलाई टोलीबाट पूर्ण रूपमा नहटाइएको बताएका छन्।
इटालियन प्रशिक्षक एन्सेलोटीका अनुसार ब्राजिल राष्ट्रिय टोलीको प्रारम्भिक सूचीका लागि यी स्टार फरवार्ड अझै पनि विचारमा रहनेछन्। टोलीमा उनको प्रभाव र समर्थकहरूमाझको महत्त्वलाई ध्यानमा राख्दै अन्तिम निर्णय लिन उनी हतार गर्न चाहँदैनन्।
गत मार्चमा टोली घोषणा गर्दा आफूलाई बाहिर राखेपछि नेयमारले असन्तुष्टि पनि जनाएका थिए। यसमा केहीले नेयमारको समर्थन गरेका छन् भने केही मौन बसेका छन्। केहीले एन्सेलोटीको निर्णयलाई समर्थन गरेका छन्। तर, अहिले यी अनुभवी प्रशिक्षक आफ्नै निर्णयबारे पुनर्विचार गरिरहेका देखिन्छन्।
फ्रान्सेली सञ्चारमाध्यम एल’इकिपलाई दिएको अन्तर्वार्तामा एन्सेलोटीले नेयमारका लागि आशाको ढोका खुला राखेका छन्। ‘यसमा मलाई कुनै समस्या छैन। नेयमारले ब्राजिलियन फुटबलमा इतिहास बनाएको छ र अझै बनाइरहेको छ। ऊ एक असाधारण प्रतिभा हो, त्यसैले मानिसहरूले उसले हामीलाई अर्को विश्वकप जिताउन सक्छ भन्ने सोच्छन्। अहिले उसलाई सिबिएफ र मैले मूल्यांकन गरिरहेका छौं र उससँग आफूलाई प्रमाणित गर्न अझै दुई महिना समय छ,’ उनले भने।
उनले थपे,‘२०२२ को विश्वकपपछि ऊ सय प्रतिशत फिट थियो कि थिएन, म निश्चित छैन। तर, ऊ फेरि त्यो अवस्थामा फर्किन सक्छ। मैले सधैं भनेको छु म फिट खेलाडीलाई मात्र टोलीमा लिन्छु। घुँडाको चोटपछि नेयमार राम्रोसँग फर्किएको छ र गोल पनि गरिरहेको छ। उसले यो निरन्तरता कायम राख्नुपर्छ र आफ्नो फिटनेस अझ सुधार गर्नुपर्छ। ऊ सही बाटोमा छ।’
अब सबै कुरा नेयमारकै प्रदर्शनमा निर्भर छ। आगामी केही हप्तामा उनले ३४ वर्षको उमेरमा पनि विश्वकपको अन्तिम टोलीमा पर्न योग्य आफू रहेको प्रमाणित गर्नुपर्नेछ। एन्सेलोटीले नेयमारलाई सेन्ट्रल पोजिसनमा, खेलाउन चाहेको पनि बताएका छन्। उनी अहिले सान्तोसमा यही पोजिसनमा खेलिरहेका छन्।
यससँगै उनले युवा फरवार्ड एन्ड्रिकबारे पनि कुरा गरेका छन्। रियल मड्रिडबाट लोनमा ओलम्पिक लियोन जानुअघि उनले एन्ड्रिकसँग फोनमा कुराकानी गरेका थिए।
उनले भने,‘लियोन जानुअघि मैले उससँग कुरा गरेको थिएँ। ऊ त्यहाँ राम्रो गरिरहेको छ। अरू खेलाडीहरूजस्तै हामी उसलाई पनि नियालिरहेका छौं। लियोनमा उसले राम्रो सुरुवात गरेको छ। उसले यो लय कायम राख्नेछ भन्नेमा हामी आशा छौं।’





-1775932166938.webp&w=3840&q=75)





