काठमाडौं। फुटबलको सर्वोच्च निकाय फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरले सन् २००७ मा भारतलाई ‘सुतिरहेको जायन्ट्स’ भनेर तारिफ गरेका थिए।
त्यसको मतलब भारतले फुटबलमा जति गरिरहेको छ त्योभन्दा धेरै गर्न सक्छ। तर, गरेको छैन। त्यसको १५ वर्षपछि त्यो कुरा सत्य साबित भएको छ। अहिले साच्चिँकै नै त्यो ‘जायन्ट’ गहिरो निद्रामा छ।
भारतीय फुटबल नयाँ संकटमा फसेको छ। राष्ट्रिय टोली मुख्य प्रशिक्षकविहीन छ। भोलिका बारे कुनै ठोष योजना छैन। भारतको शीर्ष फुटबल प्रतियोगिता इन्डियन सुपर लिग (आइएसएलको) अस्तित्व नै संकटमा छ।
अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) र आइएसइल सञ्चालन गर्ने कम्पनी फुटबल स्पोर्ट्स डेभ्लपमेन्ट लिमिटेड (एफएसडीएल) बीचको सम्झौता ८ डिसेम्बर २०२४ मा सकिसकेको छ। हालसम्म नयाँ सम्झौता पनि भएको छैन।
यसले हजारौं खेलाडी, प्रशिक्षक र कर्मचारीको भविष्य अन्योलमा पारेको छ। भारतका प्रसिद्ध स्ट्राइकर सुनील क्षेत्री सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्छन्,‘भारतीय फुटबल इकोसिस्टमबारे सबैजना चिन्तित र डराइरहेका छन्। किनभने भविष्यप्रति अनिश्चितता छ।’
४० वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका सुनील पुनः राष्ट्रिय टोलीका फर्किएका थिए। नयाँ पुस्ताका स्ट्राइकर तयार भइनसकेको स्थितिले उनलाई सन्न्यास फिर्ता लिन बाध्य बनाएको हो।
उनका नाममा हालसम्म ९५ अन्तर्राष्ट्रिय गोल छन्। उनीभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डो (१३८), लिओनल मेसी (११२) र अली दाई (१०८) हुन्। तर, सुनील फर्किनु र नफर्कनुले अहिले कुनै अर्थ नै राखेको छैन।
प्रशिक्षकविहीन, प्रदर्शन निराशाजनक
भारत हाल फिफा वरियतामा १३३औं स्थानमा छ। यो पछिल्लो दशकको सबैभन्दा कमजोर वरीयता हो। पछिल्ला १६ मध्ये एक खेल मात्र जितेको छ।
स्पेनी प्रशिक्षक मानोलो मार्क्वेजले एक वर्षमै राजीनामा दिएका थिए। उनले प्रशिक्षण दिएको अन्तिम खेलमा भारत हङकङसँग १–० ले पराजित भएको थियो।
आइएसएल प्रायः सेप्टेम्बरदेखि अप्रिलसम्म सञ्चालन हुन्छ। तर, सम्झौता नहुँदा नयाँ सिजन सुरु हुन सकेको छैन। पूर्वकप्तान तथा हाल राष्ट्रिय टोली निर्देशक सुब्रत पल भन्छन्,‘हामीले चुनौतीहरूलाई आत्मसात गर्दै फुटबलको जग बलियो बनाउने अवसरको रूपमा लिनुपर्छ। युथ डेभलपमेन्ट, पूर्वाधार र गुणस्तरीय प्रशिक्षकमा लगानी गर्नुपर्छ।’
आइएसएल सुरु हुँदा विश्वस्तरका खेलाडीहरू अलेस्सान्द्रो डेल पियरोजस्ता नामहरू भारत आएका थिए। तर, आज त्यो चमक गुम्दै गएको छ। टिभी दर्शक घट्दै गएका छन्, प्रायोजकको चासो हराउँदैछ।
आर्सनलका पूर्वप्रशिक्षक र हाल फिफा फुटबल विकास प्रमुख आर्सेन वेंगरले सन् २०२३ मा भारत भ्रमण गरेर एक फुटबल एकेडेमी उद्घाटन गरेका थिए।
एआइएफएफ अध्यक्ष कल्याण चौबेसँग वेंगरले पछिल्लो महिना भेट गरेका थिए। वेंगरका अनुसार भारतमा खेलाडीहरूले १३ वर्षपछि मात्र फुटबल करिअर सुरु गर्छन्, जुन धेरै ढिलो हो। कम्तीमा ८ वर्षको उमेरदेखि खेल सुरू गरिनुपर्छ।
आफ्नो स्वार्थमा चलिरहेको एआइएफएफ
भारतले अहिलेसम्म विश्वकपमा छनोट हुन सकेको छैन। तर, सन् १९४८ देखि १९६० सम्म चार पटक ओलम्पिकमा खेलिसकेको इतिहास छ। १९५६ मेलबर्न ओलम्पिकमा भारतले चौथो स्थान प्राप्त गरेको थियो।
खेल पत्रकार जयदीप बसुका अनुसार भारतीय फुटबलको मूल समस्यामध्ये एक हो- व्यवस्थापकीय लापरवाही। सन् २०२३ को सेप्टेम्बरमा ९९औं स्थानमा रहेको भारत १३३ मा झर्ने अवस्था राम्रो व्यवस्थापन नभएको प्रमाण नै हो।
उनी भन्छन्,‘एआइएफएफमा केही सीमित व्यक्ति आफ्नो व्यक्तिगत फाइदाका लागि पुरै संस्थालाई चलाइरहेका छन्।’ उनले हालै ‘हु स्टोल माइ फुटबल?’ शीर्षकको पुस्तक पनि प्रकाशित गरेका छन्।
एआइएफएफले अहिलेसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। भारतको जनसंख्या १.४ अर्ब छ। अझै पनि फुटबलमा संरचनागत र व्यवस्थापनगत सुधारको खोजीमा संघर्ष गरिरहेको छ।
सुतिरहेको जायन्ट्सलाई ब्युँझाउन अब पानी खनाउने होइन। ठोस योजना, पारदर्शिता र लगानी आवश्यक छ।