मेसीबिनाको मियामीले गोल गर्न सकेन

काठमाडौं। इन्टर मियामीले निलम्बित कप्तान लिओनल मेसीबिना आइतबार बिहान एफसी सिनसिनाटीसँग गोलरहित बराबरी खेलेको छ।
अल–स्टार खेलमा अनुपस्थित भएपछि मेजर लिग सकर (एमएलएस) मेसी र उनका साथी जोर्डी अल्बालाई एक खेलमा निलम्बन गरेको थियो। यद्यपि, मेसी मैदानमा थिएनन्, उनी चेज स्टेडियमको सुइटबाट खेल हेर्न उपस्थित थिए।
इन्टर मियामीका सह–मालिक जोर्गे मासले शुक्रबार यो निर्णयलाई ‘अत्यन्त कठोर’ भन्दै आलोचना गरेका थिए। उनका अनुसार मेसी यो निलम्बनबाट निकै दुखी छन्। उनी भन्छन्,‘यो मियामीका लागि महत्त्वूपूर्ण खेल थियो। हामी दोस्रोपटक सपोर्टर्स सिल्ड जित्नको प्रयासमा छौं।’
टिमका प्रशिक्षक जेभियर माश्चेरानोले समेत मेसीमाथि भएको कारबाहीप्रति असन्तोष व्यक्त गरे। उनले भने,‘स्टेडियम भर्न र टिकट बेच्न मेसीको नाम प्रयोग गरिन्छ, त्यसबेला कसैले केही भन्दैन। तर, उसले खेल्दैन भने सजाय दिइन्छ।’
उनले थपे,‘हामीले मेजर लिगलाई पहिल्यै जानकारी दिएका थियौं कि लगातार खेलहरुका कारण मेसी थाकेका छन्। एक दिन केही भन्छन्, अर्को दिन अर्कै कुरा। सबैले सुनेका थिए मेसी खेल संख्या धेरै भएकाले नखेल्नु सामान्य हो।’
सिनसिनाटीको गोल अस्वीकार
खेलमा दुवै टोलीले आक्रमण गरे पनि गोल निकाल्न सकेनन्। अन्तिम थपिएको समयमा सिनसिनाटीका डिफेन्डर माइल्स रोबिन्सनले एमभीपी इभान्डरको फ्रिकिकमा हेडर गोल गरे पनि फाउलको कारण त्यो गोल अस्वीकार गरियो।
इन्टर मियामीका अनुभवी स्ट्राइकर लुइस सुआरेजले खेलको सुरुआतमै केही उत्कृष्ट पासहरू दिए। उनले फाफा पिकौल्टलाई दिएको पासबाट आएको हेडरलाई सिनसिनाटीका गोलकिपर रोमन सेलेन्टानोले उत्कृष्ट बचाउ गरे।
दुवै टोलीले पछिल्ला सातमध्ये ६ खेल जितेका छन्। पछिल्लो बुधबार मेसीसमेत खेल्दा इन्टर मियामीलाई ३–० ले हराएको सिनसिनाटी ४९ अंकसहित सपोर्टर्स सिल्ड तालिकामा दोस्रो स्थानमा छ भने मियामी ४२ अंकसहित पाँचौं स्थानमा छ।













-1762856022963.jpg&w=3840&q=75)