पाँचथरलाई हराउँदै झापा अन्तिम ४ मा प्रवेश

नमिन ढकाल, इलाम। रोलिङ क्लब धुलाबारी झापा तेस्रो इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
इलामको ठूलो टुँडिखेलमा जारी प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा पाँचथर स्पोर्टिङ क्लब पाँचथरलाई ३–० ले हराउँदै झापाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
२३औं मिनेटमा झापाका प्रतापसिंह राईले फ्रिकिकमार्फत गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। झापाका राज भुसाललाई सविन घिमिरेले डिबक्स बाहिर फाउल गरेपछि पाएको अवसरलाई राईले गरेको प्रहारलाई गोलरक्षक अभिषेक बरालले बचाउने कुनै अवसर पाएनन्।
दुई मिनेट नबित्दै झापाले अग्रता दोब्बर बनाएको थियो। कप्तान नीरज कार्कीले टिमका लागि दोस्रो गोल गरेका हुन्। डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोलरक्षक बराललाई बिट गरेर कार्कीले गोल गरेका हुन्।
पहिलो हाफमा २–० को अग्रता बनाएका झापाले दोस्रो हाफको पहिलो मिनेटमा नै तेस्रो गोल गर्न सफल रह्यो। राज भुसालको पासमा अरुण मेचेले झापाका लागि तेस्रो गोल गरे।
‘म्यान अफ दी म्याच’ झापाका प्रतापसिंह राई घोषित हुँदै ८ हजार एक सय रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा मच्छिन्द्र एफसी र पाहुना टोली एन पेनाङ एफसी मलेसिया प्रतिस्पर्धा गर्दै छन्।










