पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन

काठमाडौं। बंगलादेशको ढाकामा जारी साफ यु–२० च्याम्पियनसिप २०२५ को संस्करणले एक पटक फेरि स्पष्ट पारेको छ– दक्षिण एसियाको महिला फुटबलमा अहिले नेपालको ‘फिनिशिङ’ नै फरक स्तरमा पुगेको छ।
प्रतियोगिताका कुल १० खेलमा हालसम्म ६२ गोल भइसकेका छन्। तीमध्ये नेपालकै खातामा परेका छन् २९ गोल। यो गोलसंख्या झन्डै आधा हो। नेपालले कुनैपनि प्रतिद्वन्द्वीलाई ‘क्लास’ देखाउने शैलीमा खेलेको छ। फुटबल मैदानमा स्कोरबोर्डको लय नेपाली खेलाडीद्वय पूर्णिमा राई र मीना देउवाको तालमा नाचिरहेको छ।
स्ट्राइकर पूर्णिमा यो साख चम्काउने यात्राकी प्रणेता बनेकी छन्। प्रतियोगिताभर दुई ह्याट्रिकसहित १० गोल पुर्याएकी उनी अहिले साफ इतिहासमै उमेर समूहको एउटै संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन्।
उनको गोलको लयलाई सघाइरहेकी छन्, नेपालकै फरवार्ड मीना। उनले दुई ह्याट्रिकसहित ७ गोल गर्दै सशक्त प्रतिस्पर्धा गरिरहेकी छन्। यी दुईको जोडीले विपक्षीका गोलरक्षकलाई प्रायः दर्शक बनाइरहेको छ।
यी दुईबाहेक समीक्षा मगर र कुशुम खतिवडा समान तीन–तीन गोलसहित मिडफिल्डबाट स्कोर्ड कार्डमा संख्या थपिरहेका छन्। सेनु परियार र सरिता नाथको योगदान पनि दुई–दुई गोलमा देखिएको छ भने अनिशा राई र विर्सना चौधरीले गोल स्कोरिङको सूचीमा नाम लेखाइसकेका छन्।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङ भन्छन्,‘अहिले नेपाली टोलीको को स्ट्राइकर हो, को फरवार्ड हो वा को मिडफिल्डर हो? विपक्षीले छुट्टाउन नै सकेको छैन। जसले पनि गोल गरिरहेको छ।’
नेपालको यही आक्रामक प्रवृत्तिले सन् २०१८ मा भुटानमा बनेको कीर्तिमान ध्वस्त पार्ने संकेत दिइरहेको छ, जहाँ कुल ६५ गोल भएका थिए।
बंगलादेशकी फरवार्ड मोसममत सिरात जहान शोपनाले चाङ्लिमिथाङ रंगशालामा सर्वाधिक ८ गोलको कीर्तिमानी बनाएकी थिइन्। अब त्यो कीर्तिमान पूर्णिमाको नाममा सरिसकेको छ।
सन् २०१९, २०२१ र २०२३ का संस्करणहरूमा क्रमशः ४४, २४ र ३२ गोल मात्रै भएका थिए। ती सबै संस्करणको औसत गोल दर ४ देखि ४.५७ मा सीमित थियो।
तर, यो संस्करणले फेरि एउटा नयाँ रफ्तार देखाएको छ। प्रति खेल औसत गोलसंख्या ६.२ मा पुगिसकेको छ, त्यो पनि नेपालकै मुख्य दबदबासहित।
नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्न बाँकी छ। त्यो खेल नतिजा मात्रै होइन, इतिहास लेख्ने अवसर पनि हुनेछ। पूर्णिमा १० र मीना ७ गोलबाट माथि उक्लिइन् भने नेपालले यो उमेर समूहमा पहिलोपल्ट उपाधि उचाल्दै इतिहास रच्ने छ।








-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)
