काठमाडौं। पब्जी मोबाइल ई–स्पोर्ट्स विश्वकप खेल्ने नेपाली टिम होरा ई–स्पोर्ट्सको सोमबार बिदाइ गरिएको छ।
ई–स्पोर्ट्स संघ नेपाल (ईशान)ले राष्ट्रिय खेलकुद परिषद्मा सोमबार एक कार्यक्रमको आयोजना गरेर साउदी अरबमा हुने विश्वकप खेल्ने टोलीलाई बिदाइ गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र संघका अध्यक्ष अन्जन धमलाले खेलाडी तथा अफिसियलको बिदाइ गरेका थिए । खेलाडी तथा अफिसियललाई शुभकामना दिँदै सदस्य सचिव घिसिङले ई– स्पोर्ट्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको उल्लेख गर्दै नेपाली टिमलाई विजेता बनेर आउन शुभकामना दिए ।
उनले विदेशी भूमिमा नेपालको प्रतिनिधित्व गर्दै टिम तथा खेलाडीहरूले राम्रो प्रर्दशन गर्ने विश्वास व्यक्त गरे । संघका अध्यक्ष धमलाले ई– स्पोर्ट्सको अन्तराष्ट्रिय नतिजाका लागि सक्दो सहयोग गर्न आफूहरू तयार रहेको बताए।
विश्वकपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गर्नेछन् । म्यानेजरमा उमेश बुढथापा र अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी छन् ।
साउदी अरबमा जुलाई २५ देखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट होरा एक्लो टिमको रूपमा छनोट भएको हो । काजकिस्तानमा गत महिना भएको पब्जी मोबाईल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होर विश्वकपमा छनोट भएको थियो । झण्डै ४१ करोड रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिताको विजेताले करिव ७ करोड रुपैयाँ प्राप्त गर्नेछ ।