काठमाडौं। बंगलादेशको राजधानी ढाकाको बसुन्धरा किङ्स एरिनामा सोमबार साँझ नेपाल र बंगलादेश आमनेसामने हुनेछन्।
यो उपाधि भिडन्त मात्रै हुने छैन। यो खेल त मैदानमा दुई फरक दृष्टिकोणबीचको टक्कर पनि हुनेछ। यो खेलमा नेपाल उपाधि जित्न मैदानमा उत्रिनेछ, त्यहीँ बंगलादेशका प्रशिक्षक पिटर बटलर दीर्घकालीन योजनाको नक्सा कोर्दै हुनेछन्।
बंगलादेशले प्रतियोगितामा अहिलेसम्म अंक गुमाउन परेको छैन। त्यसको ठिक विपरीत छ नेपाल। यो टोलीले दोस्रो खेलमै बंगलादेशसँग ३–२ को हार बेहोरेको थियो। त्यो खेलले नेपालको पहिलो उपाधि समीकरण बदलिको हो।
शीर्ष स्थानमा रहेको बंगलादेशको ५ खेलबाट १५ अंक छ। अब बंगलादेशलाई उपाधि हात पार्न बराबरी नै काफी छ। तर, समान खेलबाट १२ अंक जोडेको नेपाललाई भने जितबाहेक अन्य विकल्प हुने छैन।
नेपाली टोलीकी मिडफिल्डर बिर्सन चौधरी बंगलादेशको खेलबाहेक सबैमा आफ्नो टोलीले राम्रो प्रदर्शन गरेको बताउँछिन्। त्यसैले पछिल्ला खेलमा जस्तै टिम एक भएर खेले बंगलादेशलाई स्तब्ध बनाउँदै उपाधि हासिल गर्न सक्ने उनको भनाइ छ। उनी भन्छिन्,‘भुटानसँग जस्तै खोल्यौ भने अवश्य नै बंगलादेशलाई हराउन सक्छौं।’
तर, मुख्य प्रशिक्षक उपाधिको विषयमा मौन छन्। उनी यतिमात्रै भन्छन्,‘पहिलो हाफमा बंगलादेशसँग कसरी २ गोल खायौं भनेर समीक्षा गर्छौं। त्यसपछि रणनीति बनाएर आक्रमक फुटबल खेल्छौं।’ उनको बोलि बिर्सनको जस्तो स्पष्ट छैन। तर, भावले भने उनको लक्ष्य उपाधि नै हो भन्ने नै बुझाउँछ।
तर, बंगलादेशका मुख्य प्रशिक्षक प्रशिक्षक पिटर बटलर प्रारम्भदेखि नै उपाधिमा भन्दा टोली निर्माणमा ध्यान दिइरहेका छन्। सिनियर टोलीलाई पहिलोपल्ट एएफसी महिला एसियन कपमा छनोट गराउँदा उनी नै मुख्य प्रशिक्षको जिम्मेवारीमा थिए।
‘उपाधि मेरो प्राथमिकता होइन,’ श्रीलंकामाथिको सहज जितपछि पत्रकारहरूसँग कुरा गर्दै बटलरले भने, ‘म यहाँ भावी टिम तयार पार्न आएको हुँ। यसले परिणाम आउँछ या आउँदैन भन्ने कुरा गौण हो। मलाई यो यात्रामा समावेश भएका सबै खेलाडीहरूको भविष्य महत्त्वपूर्ण लाग्छ।’
उनको यो दृष्टिकोण यथार्थमा पनि देखिएको छ। बंगलादेशले प्रतियोगितामा आफ्नो २३ जना खेलाडीलाई मौका दिने एकमात्रै टोली हो। तर, नेपालविरुद्धको खेलमा भने उनले पहिलो रोजाइको टोलीलाई उतार्ने सम्भावना छ। किनभने उपाधि यति नजिक हुँदा कति ‘प्रेसर’ हुन्छ भनेर खेलाडीलाई अनुभव दिलाउने सही अवसर यही हो।
नेपालसँगको पहिलो भेटमा बंगलादेशले सानदार सुरुआत गरेको थियो। पहिलो हाफमा २–० को अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा केही मुख्य खेलाडीलाई विश्राम दियो। योसँगै नेपालले खेलमा फर्कने अवसर पायो।
७८औं मिनेटमा अनिशा राईको पेनाल्टी र ८७औं मिनेटमा मीना देउवाको गोलसँगै नेपालले खेल २–२ को बराबरीमा ल्याएको थियो। तर, इन्जुरी समयको अन्तिम सेकेन्ड सम्हालिन नसक्दा नेपाल अन्ततः ३–२ ले पराजित हुन पुग्यो।
यही जितले गर्दा बंगलादेश अहिले अंकतालिकाको शीर्ष स्थानमा छ। बराबरीले पनि बंगलादेशको उपाधि सुनिश्चित हुनेछ। तर, नेपालले खेल जित्न सके गोलान्तरको बलमा उपाधि काठमाडौं ल्याउने छ। नेपाल प्रतियोगिताकै सबैभन्दा आक्रामक टोली साबित भएको छ। यो टोलीले ५ खेलमै ३० गोल गरिसकेको छ, जुन बंगलादेशको २४ भन्दा ६ गोल बढी हो।
बटलरले नेपाली टोलीको खुलेर प्रशंसा गरेका छन्। उनले भनेका छन्, ‘नेपाल उत्कृष्ट टिम हो। गोल गर्न सक्ने क्षमता देखाइसकेको छ। फिफा वरीयतामा पनि हामीभन्दा नेपाल अगाडि छ। हामी पूर्ण सम्मानका साथ मैदानमा भेट्नेछौं।’
बंगलादेशका लागि सुखद पक्ष भनेको फरवार्ड मोसम्मत सागोरिकाको पुनरागमन हुनेछ। नेपालविरुद्धको ३–२ को जितमा उनले नेपाली डिफेन्डर सिम्रन राईसँको विवाद पछि उनले रातो कार्ड पाइन्। योसँगै उनी र सिम्रनमाथि तीन खेलको प्रतिबन्ध र ५ सय डलर जरिवान लगाइएको थियो। उनको उपस्थितिले बंगलादेशको आक्रमण पुनः धारिलो बन्ने अपेक्षा गरिएको छ।
तर, प्रशिक्षक बटलर आफ्नै ड्रेसिङ रुममा समेत सर्तकता अपनाइरहेका छन्। उनी आफ्ना खेलाडीलाई चेतावनी दिँदै भन्छन्,‘यदि कोही खेलाडीले यो खेल सजिलो हुने भनेर सोचिरहेको छ भने त्यो जीवनकै ठूलो पाठ बन्न सिक्न सक्छ।’
नेपालसँगको खेल उपाधि रक्षा गर्ने भिडन्त मात्रै होइन, त्यो बंगलादेश महिला फुटबलको आगामी परीक्षा पनि बन्नेछ। प्रशिक्षक बटलर त्यो परीक्षा पास भए पनि फेल भए पनि भविष्य निर्माणको प्रक्रिया रोकिने छैनन्।