श्रीलंकाको पोस्टमा उज्बेकिस्तानको १० गोल

काठमाडौं। उज्बेकिस्तानले एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटको समूह एफ अन्तर्गतको खेलमा श्रीलंकामाथि एकतर्फी प्रदर्शन गर्दै १०–० को फराकिलो जित दर्ता गरेको छ।
यस जितसँगै उज्बेकिस्तान समान अंक भए पनि गोलअन्तरका आधारमा नेपाललाई पछि पार्दै समूहको शीर्ष स्थानमा छ। नेपालले आइतबार नै लाओसलाई ९–० ले पाखा लगाएको थियो। उज्बेकिस्तानले अब बुधबार लाओससँग प्रतिस्पर्धा गर्नेछ भने श्रीलंका नेपालसँग भिड्नेछ।
खेलको तेस्रो मिनेटमै लुड्मिया कराचिकको क्रसमा निलुफर कुड्रातोभाले सजिलै गोल गर्दै उज्बेकिस्तानलाई अग्रता दिलाइन्। चार मिनेटपछि कराचिककै अर्को क्रसमा कुड्रातोभाले पुनः गोल गर्दै आफ्नो व्यक्तिगत खाता दुईमा पुर्याइन्।
१८औं मिनेटमा श्रीलंकाको खराब क्लियरेन्समा कराचिकले नै गोल थपिन्। त्यसको दुई मिनेटपछि फेरुजा तुर्दिबोएभाको पासमा उनले उत्कृष्ट फिनिश गर्दै आफ्नो दोस्रो गोल गरिन्। ३१औं मिनेटमा दियोराखोन खबिबुल्लाएवाले पाँचौं गोल गरिन्। त्यसपछि पनि उज्बेकिस्तानको आक्रमण रोकिएन।
५२औं मिनेटमा कराचिकको अर्को क्रसमा कुड्रातोभाले ह्याट्रिक पूरा गरिन्। ६८औं मिनेटमा मफ्तुना शोइमोभाले सातौं गोल थपिन्। ७३औं मिनेटमा कुड्रातोभाले व्यक्तिगत चौथो गोल गरिन्। ८७औं मिनेटमा खबिबुल्लाएवाले हेडरमार्फत आफ्नो दोस्रो गोल गरिन् र त्यसको एक मिनेटपछि ह्याट्रिक पनि पूरा गरिन्।













