काठमाडौं। क्लब विश्वकपको समूह ‘एफ’ अन्तर्गत मेटलाइफ स्टेडियम (न्युयोर्क नजिकैको ईस्ट रदरफोर्ड) मा बुधबार बिहान भएको खेलमा बोरुसिया डर्टमुन्ड र ब्राजिलको फ्लुमिनेन्सेबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ।
कोपा लिबरटाडोरेस २०२३ की विजेता फ्लुमिनेन्से खेलभरि नै बढी आक्रमणमा देखियो। पहिलो हाफमा जोन एरियासको प्रहारलाई डर्टमुन्डका गोलकिपर ग्रेगोर कोबेलले पोस्ट बाहिर पठाए। त्यसपछि मथेउस मार्टिनेलीको प्रहार थोरैले बाहिरियो।
४० वर्षीय कप्तान थियागो सिल्भाले नेतृत्व गरेको फ्लुमिनेन्से टोली काउन्टर अट्याकमा खतरनाक देखियो। दोस्रो हाफको मध्यतिर अगस्टिन कानोब्बियोलाई उत्कृष्ट मौका मिल्दा पनि उनले कोबेलतर्फ सिधा प्रहार गरे। खेलको अन्त्यतिर एभराल्डोको सटलाई कोबेलले उत्कृष्ट बचाउ गरे।
पछिल्लो सिजन बुन्डेसलिगा चौथो स्थानमा सकेको डर्टमुन्डले खेलभरि प्रभाव जमाउन सकेन। प्रशिक्षक निको कोभाकले भने, ‘हामीले अपेक्षा गरेजस्तै कठिन खेल भयो। फ्लुमिनेन्से बल पोजेसनमा निकै बलियो टोली हो। पहिलो हाफमा हामीलाई निकै कठिन भयो। दोस्रो हाफमा केही सुधार भयो तर बराबरी नतिजा हाम्रो लागि भाग्यमानी रह्यो।’
डर्टमुन्डले खेलको अन्त्यतिर निक्लास सुलेको टाढाबाट गरिएको प्रहारमार्फत मात्र खतरा सिर्जना गर्यो। फ्लुमिनेन्सेसँगै अन्य ब्राजिलियन टोलीहरूको प्रदर्शन पनि प्रभावशाली रहँदै आएको छ। फ्लामेङ्गोले सोमबार एस्पेरन्स (ट्युनिसिया) लाई २–० ले पराजित गरेको थियो र अब चेल्सीसँग भिड्नेछ।
पल्मेरासले पोर्टोसँग गोलरहित बराबरी खेलेको छ भने ब्राजिल र दक्षिण अमेरिकी च्याम्पियन बोटाफोगोले आइतबार सिएटल साउन्डर्सलाई २–१ ले हराएको थियो।
डर्टमुन्डले आफ्नो दोस्रो खेल दक्षिण अफ्रिकाको ममेलोडी सन्डाउन्ससँग खेल्नेछ। सो समूहको अर्को खेलमा सन्डाउन्सले दक्षिण कोरियाको उल्सान एचडीसँग फ्लोरिडाको अर्लान्डोमा प्रतिस्पर्धा गर्दैछ।
‘हामीलाई मैदान सजिलो भएन। आर्द्रता पनि समस्याजनक थियो। ब्राजिलियनहरूलाई यस्तो मौसममा खेल्न बानी छ, तर हाम्रो लागि यो थकाइपूर्ण खेल बन्यो। तर, एक अंक आउँदा खुसी छौं,’ प्रशिक्षक कोभाकले भने।