काठमाडौं। ब्राजिली स्टार भिनिसियस जुनियरको पुतला पुलमा झुन्ड्याएका एट्लेटिको मड्रिडका चार समर्थकलाई स्पेनको एक अदालतले जेल सजाय सुनाएको छ।
स्पेनी प्रहरीका अनुसार यो जातीय घृणासम्बन्धी अपराध हो। जनवरी २०२३ मा रियल मड्रिड र एट्लेटिकोबीचको खेलअगाडि मड्रिडको प्रशिक्षण मैदाननजिकको पुलमा भिनिसियसको जर्सी लगाएको कालो छालाको पुतला घाँटीमा पासो लगाएर झुन्ड्याइएको थियो।
मे २०२३ मा प्रहरीले एट्लेटिकोको अल्ट्रा समूह फ्रेन्टे एट्लेटिकोका चार सदस्यलाई उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो। ती चारजनाले आफ्नो दोष स्वीकार गरेका छन्।
तीमध्ये तीन जनालाई १४ महिनाको सजाय सुनाइएको छ। घटनाको फोटो/भिडियो अनलाइन सेयर गर्ने एक जनालाई २२ महिनाको सजाय दिइएको छ। स्पेनी कानुनअनुसार यदि आपराधिक इतिहास छैन र हिंसात्मक नभए दुई वर्षभन्दा कम सजाय पाएका दोषी जेल जानु पर्दैन। यसैअनुसार ती चारजना जेल जानु पर्ने छैनन्।