मेसीले किने स्पेनिस क्लब

काठमाडौं। स्पेनको पाँचौं डिभिजन क्लब कोर्नेय्या खरिद गर्दै अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसी टोलीका नयाँ मालिक बनेका छन्। क्लबले बिहीबार आधिकारिक रूपमा यो घोषणा गरेको हो।
आठ पटकका बालोन डी’ओर विजेता मेसी अहिले अमेरिकामा इन्टर मियामीबाट खेलिरहेका छन्। यस वर्ष हुने विश्वकपमा अर्जेन्टिनाको उपाधि रक्षा अभियानमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यो कदमले मेसीको बार्सिलोनासँगको नजिकको सम्बन्धलाई अझ मजबुत बनाएको छ र क्याटालोनियामा खेल तथा स्थानीय प्रतिभाको विकासप्रति उनको प्रतिबद्धता देखाउँछ।’
कोर्नेय्याबाट धेरै शीर्ष खेलाडी उदाएका छन्। यसमा आर्सनलका गोलकिपर डेभिड राया र मेसीका पूर्वबार्सिलोना सहकर्मी जोर्डी आल्बा पनि पर्छन्। पछिल्ला दुई सिजनमा लगातार रेलिगेसन झेलेको कोर्नेय्याका लागि मेसीको आगमन नयाँ सुरुआतको रूपमा हेरिएको छ।











-1776324756993.png&w=3840&q=75)