फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

सुनसरी। प्लानिङ बोइज युनाइटेड १६औं संस्करणको इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
इटहरी रंगशालामा बिहिबार राती सम्पन्न अन्तिम क्वार्टरफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब युकेएफसीलाई ३–१ ले पारजित गर्दै प्लानिङ बोइज अन्तिम चारमा प्रवेश गरेको हो।
बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ बोइजको जितमा कप्तान फागुराम थारुले २ र धीरेन्द्र शाहले १ गोल गरे। खेलको पाँचौ मिनेटमा फागुरामले पेनाल्टीमार्फत गोल गरेर टिमलाई सुरुआती अग्रता दिलाएका थिए।
युकेएफसीका दिवश रोयले धीरेन्द्रलाई डि–एरियामा फउल गरेपछी फिफा रेफ्री उमेश बिडारीले प्लानिङ बोइजलाई पेनाल्टी प्रहार गर्ने अवसर दिएका थिए। उक्त अवसरलाई फागुरामले सहजै गोलमा परिणत गरे।
२३औं मिनेटमा फागुरामले दोस्रो गोल गरे। उनले विपक्षी गोलकिपरलाई बिट गर्दै सहजै गोल गरेका थिए। २७औं मिनेटमा डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै धीरेन्द्रले गोल परेपछि पहिलो हाफमै टिमले ३–० को अग्रता लिएको थियो।
५९औं मिनेटमा युकेएफसीका निवास राणाले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। फागुराम खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए।











-1776324756993.png&w=3840&q=75)