काठमाडौं। नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टी–२० त्रिकोणात्मक सिरिजमा रोमाञ्चक जित हासिल गरेको छ।
मंगलबार सम्पन्न खेलमा नेपाल २ विकेटले विजयी भएको हो। योसँगै सिरिजमा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सले समान २ अंक पुर्याएका छन्। नेटरनरेटमा स्कटल्यान्ड शीर्ष र नेपाल दोस्रो स्थानमा छ।
स्कटल्यान्डले दिएको ९८ रनको सामान्य लक्ष्य पूरा गर्न नेपाललाई १९.५ ओभरसम्म कुर्नुपर्यो। अन्तिम ओभरमा नेपाललाई जितका लागि ४ रन चाहिएको थियो।
सफायान शरिफको सुरुआती ३ बलमा करणले २ र किरण ठगुन्नाले १ रन लिए। तर, चौथो बलमा किरण क्याच आउट भए। योसँगै खेल पुन: सुपर ओभरतर्फ जाने देखिएको थियो। तर, पाँचौं बलमा सन्दीप लामिछानेले १ रन लिँदै नेपाललाई पहिलो जित दिलाए।
नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए। ३५ बल खेलेका उनले ४ चौका प्रहार गरे।
दीपेन्द्रसिंह ऐरीले २१ बलमा १४ रन बनाए। बसीर अहमद १३ र किरण १० रनमा पभिलियन फर्किए। स्कटल्यान्डका शरिफ र माइकल लीस्कले समान २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको हो। स्कटल्यान्डका लीस्कले सर्वाधिक ४६ रन बनाए। ४६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे।
म्याथ्यु क्रस १५ र ब्रान्डन म्याकमुलनले १० रन बनाए। अन्यले भने प्रभावकारी इनिङ्स खेल्न सकेनन्। नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित ११ रन खर्चिए।
दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २ विकेट थपे। एक विकेट ललितनारायण राजवंशीको नाममा रह्यो।