काठमाडौं। रियल मड्रिडका बेल्जियन गोलकिपर थिबाउट कोर्ट्वालाई दुई वटा विश्वकप छनोट खेल अघि ढाडको समस्या देखिएको छ। ला लिगा क्लब रियलले आइतबार उक्त जानकारी दिएको हो।
स्पेनिस मिडियाका अनुसार ३३ वर्षीय कोर्ट्वालाई एक हप्ता विश्राम र उपचारको आवश्यक पर्नेछ। जसका कारण उनले जुन ७ मा उत्तर म्यासेडोनियाविरुद्ध र त्यसपछिको जुन १० मा वेल्सविरुद्धको खेल गुमाउने भएका छन्।
तर, उनी क्लब विश्वकपको लागि भने समयमै फिट हुने अपेक्षा गरिएको छ। रियलले जुन १८ मा मियामीमा साउदी क्लब अल-हिलालविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ।
चिकित्सकका अनुसार उनलाई साक्रोइलाइटिस भएको छ। यो समस्या ढाडको तल्लो भाग र कम्मरलाई जोड्ने जोर्नीमा देखिने गर्छ।