काठमाडौं। हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा टाइम्स बास्केटबल क्लब र रोयलले जित हात पारेका छन्।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुसी युथ क्लबलाई ९७–७३ ले पराजित गरेको हो। यस जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्स फाइनल पुग्ने होडमा कायम छ।
एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि १५ अंक नै छ। गोल्डेनगेट र हाउण्ड्सले अझै दुई खेल खेल्न बाँकी छ। टाइम्सले सामुखशीमाथि चारै क्वाटरमा दबाब बनाउँदै अग्रता लिएको थियो। टाइम्सले पहिलो क्वाटर २०–१५ र दोस्रो क्वाटर २८–२४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४८–३९ को अग्रता बनाएको थियो।
तेस्रो क्वाटर पनि टाइम्सले २३–२१ ले आफ्नो पक्षमा पार्यो। चौथो क्वाटर २५–१३ ले सहजै आफ्नो पक्षमा पार्दै टाइम्सले फराकिलो जित हात पारेको हो। टाइम्सका लागि सदिश प्रधानले सर्वाधिक ३३ अंक स्कोर गरे। सामाखुशीका प्रज्वल महर्जनले २१ अंक जोडे।
टाइम्सका मनिष केसी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। टाइम्सले अब लिगको अन्तिम खेल हाउण्ड्ससँग खेल्न बाँकी छ। यस्तै दोस्रो खेलमा रोयलले कीर्तिपुरलाई ९९–९६ ले पराजित गर्यो। पहिलो क्वाटरमा कीर्तिपुरले २६–२५ को अग्रता बनायो।
तर रोयलले दोस्रो क्वाटरमा पुनरागमन गर्यो र २८–२१ ले आफ्नो पक्षमा पार्दै हाफटाइममा ५३–४७ को अग्रता बनायो। तेस्रो क्वाटर रोयलले २०–१७ ले आफ्नो पक्षमा पार्यो। यस्तै चौथो क्वाटरमा कीर्तिपुरले ३२–२६ को अग्रता लिएपनि हार टार्न सकेन। ९६–९६ स्कोर हुँदा रोएलका सुजन महर्जनले थ्री प्वाइन्ट स्कोर गर्दै खेल जिताए।
रोएलका सुजन महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। रोएलका लागि प्रसाङध्वज मास्केले ३१ अंक बनाए। यस्तै कीर्तिपुरका लागि निश्चल महर्जनले ३३ अंक जोडे।
तेस्रो जितपछि ९ खेलबाट १२ अंक जोडेको रोयल कीर्तिपुरलाई नै पछि पार्दै चौथो स्थानमा उक्लेको छ। लिगमा बुधबार शीर्ष दुई टोली गोल्डेनगेट बास्केटबल क्लब र हाउण्ड्स एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।