काठमाडौं। घरेलु टोली थाइल्यान्डसँग दुवै खेलमा पराजित भएको नेपाली राष्ट्रिय महिला फुटबल टोली मंगलबार स्वदेश फिर्ता हुने भएको छ।
पथुम थानीस्थित थम्मासत रंगशालामा सोमबार सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको हो। यसअघि शुक्रबार ‘क्लोज डोर’मा भएको अभ्यास खेलमा पनि नेपाल १–० ले पराजित भएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टोली राति १०:३० बजे थाई एअरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने छ।
नेपालले यही जुन २९ देखि उज्वेकिस्तानमा महिला एसियन कप छनोट खेल्दैछ। सोही प्रतियोगिताको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग एक मैत्रीपूर्ण र एक अभ्यास खेल खेलेको हो।
एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘एफ’मा छ। यो समूहमा नेपाल र आयोजक राष्ट्र उज्वेकिस्तानसँगै लाओस र श्रीलंका पनि छन्।