काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोली मंगलबार राति स्वदेश फिर्ता भएको छ।
दुई मैत्रीपूर्ण खेल खेल्न टोली थाइल्यान्ड पुगेको थियो। पथुम थानीस्थित थम्मासत रंगशालामा सोमबार सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको थियो। त्यसअघि शुक्रबार ‘क्लोज डोर’मा भएको अभ्यास खेलमा पनि नेपाल १–० ले पराजित भएको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टोली राति अबेर थाई एअरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो।
नेपालले यही जुन २९ देखि उज्वेकिस्तानमा महिला एसियन कप छनोट खेल्दैछ। सोही प्रतियोगिताको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग एक मैत्रीपूर्ण र एक अभ्यास खेल खेलेको हो।
एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘एफ’मा छ। यो समूहमा नेपाल र आयोजक राष्ट्र उज्वेकिस्तानसँगै लाओस र श्रीलंका पनि छन्।