काठमाडौं। रियल मड्रिडले इङ्लिस डिफेन्डर ट्रेन्ट एलेक्ज्यान्डर–अर्नोल्डलाई शुक्रबार अनुबन्ध गरेको पुष्टि गरेको छ।
क्लब विश्वकप खेल्ने तयारीमा रहेको रियलले उनलाई समयमै भित्र्याएको हो। लिभरपुलसँग १० मिलियन युरो (झन्डै ११ मिलियन अमेरिकी डलर) तिरेर यो सम्झौता भएको बताइएको छ। २६ वर्षीय इङ्ल्यान्डका राइट–ब्याकले सन् २०३१ को जुनसम्मका लागि ६ वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन्।
रियलले जनाएको अनुसार अर्नोल्ड अमेरिका हुँदै जुन मध्यदेखि सुरु हुने क्लब विश्वकपमा जाभी अलोन्सोको टोलीबाट खेल्नेछन्। उनले यसै महिना आफू आफ्नो बाल्यकालको क्लब लिभरपुल छाड्ने घोषणा गरिसकेका थिए। क्लबसँगको हालको सम्झौता जुनको अन्त्यसम्म बाँकी थियो। त्यसैले लिभरपुलले उनलाई समयअघि जान दिन केही रकम लिएको हो।
फिफाले स्वीकृत गरेको विशेष ट्रान्सफर विन्डोअन्तर्गत क्लब विश्वकप खेल्ने ३२ टोलीले जुन १ देखि १० र जुन २७ देखि जुलाई ३ सम्म खेलाडी अनुबन्ध गर्न सक्छन्। लिभरपुलबाट अर्नोल्ड एक दशकभन्दा लामो समयदेखि खेलिरहेका थिए। अब उनी फ्रेन्च स्टार किलियन एम्बाप्पेले सम्हालेको आक्रमण र जुड बेलिङ्घमसहितको रियलको टोलीमा डिफेन्स मजबुत बनाउन जोडिनेछन्।
पछिल्लो सिजन चोटका कारण रियलको डिफेन्स लाइन प्रभावित भएको थियो। टोली उपाधिविहीन रह्यो। अब अर्नोल्डले चोटग्रस्त डिफेन्समा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ।