सिरहा। सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने भएका छन्।
सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लब सिराहाको आयोजनामा प्रतियोगिता हुन लागेको हो। सिरहा नगरपालिका–७ स्थित सिरहा क्याम्पसको खेल मैदानमा प्रतियोगिता जेठ १९ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा चित्लाङ फुटबल क्लब काठमाडौं, चात्याँसा फुटबल क्लब झापा, न्यु स्टार युथ क्लब सुनसरी, वीरगन्ज युनाइटेड पर्सा, बागमती युवा क्लब सर्लाही, गाईघाट फुटबल क्लब उदयपुर, गोलबजार स्पोर्ट्स क्लब सिरहा र आयोजक सलहेश युवा क्लब सिरहाले सहभागिता जनाउने छन्।
गोल्डकपका संयोजक रजिपकुमार यादवका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँसहित गोल्डकप ट्रफी प्राप्त गर्नेछन्।
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता पनि नगद पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए।