एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा ठूलो रकम आर्जन हुने अपेक्षा गरिएको छ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यस संस्करणमा विभिन्न स्पोन्सर, टिकट र अन्यमार्फत करिब ३० देखि ४० करोड रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरिएको हो।
क्यानका कोषध्यक्ष पदमबहादुर खड्काका अनुसार टिम ओनर पक्षबाट मात्र करिब ९ करोड रुपैयाँ जुटिसकेको छ। ओटीटी प्रसारण अधिकारबाट ५ करोड ३० लाख रुपैयाँ प्राप्त हुनेछ। यसलाई यस पटक लिगको प्रमुख आम्दानी श्रोत मानिएको छ।
यसका अतिरिक्त टिकट बिक्रीबाट न्यूनतम ८ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म उठाउने लक्ष्य रहेको खड्काले जानकारी दिए। मैदानको क्षमतासहित खेलप्रति बढ्दो रुचि हेर्दा यो रकम अझ बढ्न सक्ने सम्भावना छ।
मुख्य तथा अन्य स्पोन्सरसिपबाट करिब १५ करोड रुपैयाँ सम्मको प्याकेज सुरक्षित भएको उनले बताए। यससँगै एनपीएलको दोस्रो संस्करणले कुल आय ३०–४० करोड रुपैयाँको हाराहारीमा पार गर्न सक्ने अनुमान गरिएको छ। यसले नेपाली फ्रेन्चाइज क्रिकेटको आर्थिक स्थायित्वमा सकारात्मक संकेत दिएको छ।












