काठमाडौं। बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा आफूभन्दा ३९औं स्थान माथि रहेको इन्डोनेसियालाई थ्री नेसन्स कपमा बराबरीमा रोकेको छ।
जोर्डनको किङ अब्दुल्ला स्टेडियममा शनिबार सम्पन्न खेलमा बंगलादेशले इन्डोनेसियालाई गोलरहित बराबरीमा रोकेको हो। फिफा वरीयतामा इन्डोनेसिया ९४औं स्थानमा छ।
बंगलादेश भने १३३औं स्थानमा छ। टोलीमा सर्वाधिक गोलकर्तासमेत रहेकी पूर्वकप्तान साबिना खातुन थिइनन्। इङ्लिस प्रशिक्षक पिटर बटलरले उनीसँगै चार अन्य साफ च्याम्पियन खेलाडीलाई पनि टोलीबाहिर राखेका थिए।
१५ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा ५६ खेल खेलेर ३६ गोल गरेकी साबिनालाई उनले उमेरको कारण हटाएको बताएका थिए। साबिना खातुनसँगै सन्जिदा अख्तर, मसुरा परविन, कृष्णा रानी सरकार र मात्शुसिमा सुमायालाई पनि टोलीबाहिर राखिएको छ।
यी सबै खेलाडीले गत कार्तिकमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिप जिताएका थिए। बंगलादेशको यो लगातार दोस्रो उपाधि थियो।
जुन–जुलाईमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको बंगलादेशले अब जुन ३ मा जोर्डनसँग खेल्नेछ। जोर्डन फिफा वरीयतामा ७४औं स्थानमा छ।